वैद्यको अभिव्यक्ति फौजदारी कानुन आकर्षित हुने विषयः एमाले

एमालेले नेपाली कांग्रेसका बागमती प्रदेश सभा सदस्य नरोत्तम वैद्यको अभिव्यक्ति फौजदारी कानुन समेत आकर्षित हुने विषय भएको बताएको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ती जारी गर्दै वैद्यको अभिव्यक्तिबारे नेपाली कांग्रेसको ध्यानाकर्षणसमेत गराउनुभएको छ । ‘बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उक्त अभिव्यक्तिको घोर भर्त्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।’

वैद्यले प्रदेशसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा प्रधानमन्त्री ओलीलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिनुभएको थियो । ‘ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ,’ वैद्यले भन्नुभएको थियो, ‘खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?’

प्रतिक्रिया दिनुहोस