सीटी भ्यालु के हो ? यो घटी वा बढी हुँदा के हुन्छ ?२ मिनेट समय दियर पढ्नु होस।।

काठमाडौं । दोस्रो लहरको उछालसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या बढिरहेको छ । पीसीआर पोजिटिभ आएका हरेक व्यक्तिलाई सीटी भ्यालुमा धेरै चासो देखिएको छ । सीटी भ्यालुबारे फरकफरक धारणाका कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ ।

सीटी भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड होइन । तसर्थ सीटी भ्यालु बढी अङ्कमा हुँदा सुरक्षित भइने र सीटी भ्यालु थोरै अङ्कमा हुँदा खतरा हुने हुँदैन ।

डा. रवीन्द्र पाण्डे/जनस्वास्थ्य विज्ञ
सीटी भ्यालुलाई धेरै कुराले असर गर्छ । नाकबाट लिइएको स्याम्पल र घांटीबाट लिइएको स्याम्पलमा पनि सीटी भ्यालु फरक हुन्छ । त्यस्तै स्वाब कसरी लिइयो ? कति मात्रामा लिइयो ? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो ? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्टको प्रयोग गरियो ? कस्तो जनशक्तिले परीक्षण गर्यो ? आदि अनुसार पनि सीटी भ्यालु फरक हुनसक्छ । प्रयोगशाला अनुसार पनि सीटी भ्यालु फरक–फरक हुन्छ । तसर्थ सीटी भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुनु जरुरी छैन ।

सीटी भ्यालु एउटा चक्र पनि हो । शरीरमा भाइरस प्रवेश गरेको ३–४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ । तसर्थ सीटी भ्यालु २४ अङ्क भन्दा माथि देखिन्छ । उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको सङ्ख्या धेरै हुन्छ । त्यो बेला सीटी भ्यालु २४ अङ्क भन्दा धेरै तलसम्म देखिन्छ । त्यही व्यक्तिमा निको हुनेबेला भाइरस नष्ट भएर भाइरसको सङ्ख्या कम हुन्छ अनि सीटी भ्यालु २५ भन्दा माथि देखिन्छ । यो चक्र अधिकांश व्यक्तिमा देखिन्छ ।

बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ । त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबोडी हुन्छ । एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबोडी विकास भएको हुन्छ । त्यस्ता व्यक्तिमा भाइरस घाँटीमै नष्ट हुन्छ । तसर्थ सीटी भ्यालु १२, १४ जस्तै छोटो अङ्कमा नदेखिन सक्छ ।

प्रविधि तथा देश अनुसार सीटी भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ । हाम्रो देशमा ३६ भन्दा माथिल्लो अङ्कलाई नेगेटिभ मानिन्छ । सीटी भ्यालुमा अलमल हुनु पर्दैन । रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदनुसार गर्नुपर्दछ ।

सीटी भ्यालु बुझ्ने सरल उदाहरण
हामीले एउटा खेतमा इनार खन्दैछौं । १०–१२ वटा रिङ हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ । तर ३०–३२ वटा रिङ हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ । पीसीआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०–२० साइकलमै भाइरस भेटिन्छ । भाइरसको लोड कम छ भने ३०–३२ साइकलमा मात्र भाइरस भेटिन्छ । सीटी भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ । साभार श्राेत ः दैनिक नेपाल

प्रतिक्रिया दिनुहोस