के कोभिड खोपले शरीरमा चुम्बकीय शक्ति दिन्छ ? यस्तो छ तथ्य र जाँच

काठमाडौँ– केही दिनयता कोभिड-१९ खोप लगाएका मानिसको शरीरमा चुम्बकीय शक्ति हुने दाबी गरिएका भिडियो सामाजिक सञ्जालमा शेयर भएका छन्। ती भिडियोमा कोभिड-१९ खोप लगाएपछि मानिसका पाखुरा, निधार, छातिमा स्टिलको चम्चा, थाल, चाबी टाँसिएको दृश्य देखाइएका छन्।

फेसबुक प्रयोगकर्ता राहुल बस्नेतले पोष्ट गरेको भिडियोमा काठमाडौंमा बस्ने संगीता तिमिला नाम गरेकी महिलाले कोभिडको खोप लगाएपछि उनको शरीरमा ‘चम्चा थाल टाँसिन थालेको र शरीर नै चुम्बकजस्तो भएको’ दाबी छ।

त्यस्तो देखेर डाक्टर नै चकित परेको दाबी भिडियोमा गरिएको छ। सो पोष्टलाई पाँचपटक शेयर गरिएको छ भने त्यसमा ३५ वटा प्रतिक्रिया छन्। तिमिलाले कोभिड-१९ को खोप लगाएपछि शरीरमा चुम्बकीय शक्ति आएको दाबी सम्बन्धी समाचार ‌ओएस नेपालकेटिएम नामक अनलाइनले प्रकाशित गरेका छन्। करीब ९० हजार बढीले लाइक गरेको लभ नेपाल नामक फेसबुक पेजमा पनि उक्त भिडियो शेयर गरिएको छ। तिमिलाको उक्त भिडियो युट्युबमा पनि पोष्ट गरिएको छ। त्यस भिडियोलाई करिब ५ हजार पटक हेरिएको छ।

फेसबुकमा अर्का प्रयोगकर्ताले पनि स्टिलको टिफिन बट्टा र चम्चा पाखुरामा टाँसिएको २ मिनेटको भिडियो पोष्ट गरेका छन्। उनले यो कोभिड-१९ को यो भ्रम हो कि यथार्थ भनेर जिज्ञासा पनि राखेका छन्।

अर्को लोकप्रिय प्लेटफर्म टिकटकमा पनि यस्ता भिडियो शेयर भएका छन्। @youredeadtome.ee नामक टिकटक एकाउन्टबाट आफ्ना अघिल्लो दिनमात्र खोप लगाएका पिताको हातमा चम्चा टाँसिएको भन्दै शेयर गरिएको भिडियोमा ३९ हजार भन्दा बढी प्रतिक्रिया आएका छन् भने १२०० भन्दा बढी शेयर भएको छ।

यस्तै अर्का टिकटक प्रयोगकर्ता @kasthamandap_tattoo_inn ले पनि पाखुरामा स्टिलको प्लेट टाँस्दै आफ्नो खोप कार्ड समेत राखेर बनाएको भिडियोमा ५० भन्दा बढी प्रतिक्रिया आएका छन् भने ३६ पटक शेयर भएको छ।

अर्की प्रयोगकर्ता सकुन्तला चौहानले (@sakuntalachauhan) ले पनि डाडु पाखुरामा टाँसिएको भिडियो शेयर गरेकी छन्। उनको उक्त भिडियो मा २५०० लाइक र ५९३ पटक शेयर भएको छ।

तथ्य जाँच

साउथ एसिया चेकले सामाजिक सञ्जालमा फैलिएको कोभिड-१९ को खोपले शरीर चुम्बकीय बन्छ भन्ने दाबीको तथ्य जाँच गरेको छ।

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनाका लागि जारी गरेको सामग्रीमा भनेको छ: “कोभिड-१९ को खोपहरुमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरु हुँदैन। त्यसैले यस्ता अफवाहको विश्वास नगरौं। कोभिड-१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन।”

 

प्रतिक्रिया दिनुहोस