तेलको भाउ १२० रुपियाँ बढ्यो

एक वर्षमा खानेतेलको मूल्य प्रतिलिटर १२० रुपियाँसम्म महँगिएको छ । यस अवधिमा सबैभन्दा बढी सूर्यमुखी तेल (सनफ्लो) र भटमासको तेल (सोयाबिन तेल) महँगिएको छ । कच्चा तेलका लागि विदेशकै भर पर्नुपर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्य उच्च दरले मूल्य वृद्धि भएकाले तेलको मूल्य बढेको बताइएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घका अनुसार गत वर्ष वैशाख महिनामा सोयाबिनको तेल प्रतिलिटर १६० रहेकामा अहिले २७० र सनफ्लो तेल १५५ बाट २७५ रुपियाँ पुगेको छ । सनफ्लावर धारा हेल्थ प्रतिलिटर १९० बाट २७० र तोरीको तेल २५० बाट ३२० रुपियाँ पुगेको छ ।

घिउ–तेल उत्पादक उद्योगीहरू तेलको मूल्य नेपालभन्दा विश्व बजारमा अझै बढी दरले बढेको दाबी गर्छन् । वनस्पति घिउ–तेल उत्पादन सङ्घका अध्यक्ष सन्दीपकुमार अग्रवालले तेलको मूल्य बढ्नुको मुख्य कारण तेल उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थको उच्च वृद्धि नै भएको बताउनुभयो । उहाँले अन्य कारणले पनि मूल्य बढेको र त्यसमा प्याकिङमा प्रयोग हुने सामान, खानेतेलमा बढेको भन्सार महसुल, मूल्य अभिवृद्धि कर र पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायत रहेको बताउनुभयो ।

सङ्घका अनुसार सङ्घमा हाल २० वटा तेल उत्पादक उद्योग आबद्ध छन् । ती उद्योगमा चाहिने कच्चा पदार्थ ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायत मुलुकबाट आयात हुन्छ । कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारले निर्धारण गर्ने हुँदा यहाँ पनि असर परेको सङ्घको दाबी छ ।सङ्घका अनुसार एक वर्षअघि अर्जेन्टिनाबाट प्रतिटन ६१६ डलरमा खरिद गरिएको कच्चा भटमास बढेर एक हजार २७९ डलर र युक्रेनमा ६५६ डलरमा खरिद गरिएको कच्चा भटमासको तेल बढेर एक हजार ५८० डलर पुगेको छ ।

सङ्घले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उपलब्ध गराएको विवरणअनुसार ८ अप्रिल २०२१ मा कच्चा भटमासको तेल प्रतिटन एक हजार १९० बाट बढेर अप्रिल २२ सम्म आइपुग्दा एक हजार २७९ डलर पुगेको छ । हल्दियासम्म आइपुग्दा भाडा शुल्कसहित एक हजार ३५० डलर पुगेको छ । कच्चा सूर्यमुखी तेलको मूल्य पनि अप्रिल ८ मा एक हजार ३० डलर थियो, अप्रिल २२ सम्म आइपुग्दा एक हजार ५८० डलर, भाडा शुल्कसहित हल्दियासम्म पुग्दा एक हजार ६६० डलर पुगेको सङ्घले जनाएको छ ।

उपभोग बढेसँगै माग पनि बढ्यो
पछिल्लो समयमा तेलको उपभोग र माग पनि बढेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार वनस्पति तेलको माग सन् २०१५/१६ मा दुई करोड ३४ लाख ८० हजार टन थियो भने सन् २०१९/२० मा आइपुग्दा दुई करोड ५९ लाख २० हजार टन पुगेको छ तर स्वदेशी उत्पादन जम्मा एक करोड छ लाख ५० टन मात्रै छ । स्वदेशी उत्पादनबाट तोरीको दाना, बदामको दाना, नरिवल, पाम तेल र राइस ग्रेन आयल, कटन सिड गरेर एक करोड छ लाख ५० हजार मात्रै हो ।

यसका आधारमा भारतमा खपत हुनेमध्ये एक करोड ३३ लाख ५० हजार टन कच्चा पदार्थ विदेशबाटै आयात गर्नुपर्छ । भारतमा ७० लाख टन पाम तेल, ३५ लाख टन सोयाबिन, २५ लाख टन तेल विदेशबाट आयात हुन्छ ।

प्रतिक्रिया दिनुहोस