लोप भएको भनिएको यो अनौठो माछा, जुन १०० वर्ष बाँच्न सक्छ

एउटा प्रजातिको माछा आश्चर्यजनक रूपमा लामो समय अर्थात् एक शताब्दीसम्मै बाँच्न सक्ने एउटा नयाँ अध्ययनले सङ्केत गरेको छ। कुनै बेला लोप भइसकेको ठानिएको उक्त माछालाई ‘लिभिङ फसिल’ ‘अर्थात् सजीव जीवावशेष’ मानिन्छ।

सीलक्यान्थ भनिने उक्त माछाको आयु पहिला २० वर्षजति हुने ठानिएको थियो। तर नयाँ आकलनअनुसार शार्कजस्तै उक्त जलचर १०० वर्षजति बाँच्ने देखिएको छ।

उक्त माछाको आयु निर्धारण गर्न फ्रान्सेली अध्ययनकर्ताहरूले सङ्ग्रहालयमा सङ्गृहीत कत्लाको अध्ययन गरेका थिए।उक्त माछाले आफ्नो जीवनको मध्यकालको अन्तिमतिर मात्र प्रजनन गर्छ। अनि गर्भधारण गर्ने समय पाँच वर्षसम्म हुन सक्छ।

बिस्तारै हुर्किने र थोरै सन्तान जन्माउने माछाहरू जलवायु परिवर्तन तथा धेरै माछा मार्ने प्रवृत्तिका कारण लोप हुने खतरामा परेका छन्।फ्रान्सको यूनिभर्सिटी अफ मोङ्पोल्येका डा. ब्रुनो अर्नान्ड सीलक्यान्थको जीवनबारे थाहा पाउँदा संरक्षणका लागि बलियो उपाय अवलम्बन गर्न सकिने बताउँछन्।

“संरक्षणका लागि एउटा निकै महत्त्वपूर्ण ढाँचा भनेको यो प्रजातिका माछाको सङ्ख्या थाहा पाउन सक्नु हो,” उनले बीबीसी न्यूजलाई भने। “यो नयाँ जानकारीले त्यसमा हाम्रो पहुँच बढाउनेछ।”

हराउने र भेटिने क्रम
सन् १९३८ मा दक्षिण अफ्रिकामा माछा समाउने क्रममा जालमा नपर्दासम्म सीलक्यान्थ लोप भइसकेको ठानिएको थियो।लगत्तै उक्त माछाका दुईवटा समूह अफ्रिकाको पूर्वी तटमा र अर्को इन्डोनेशियाको सुलावेसीमा फेला परे।

महादेशहरूको उथलपुथल र डाइनसोरलाई लोप गराउने क्षुद्रग्रहको ठक्कर सहन गर्दै सीलक्थान्थका पूर्वजको उत्पत्ति ४२ करोड वर्षअघि भएको थियो।

अफ्रिकी समूहलाई अतिसङ्कटापन्न मानिन्छ। उक्त समूहमा केही सय माछा मात्र जीवित भएको ठानिन्छ। समुद्र काप्चामा बस्ने यी माछा १.८ मिटरसम्म बढ्न र ९० किलोभन्दा बढी तौलका हुन सक्छन्।

प्रतिक्रिया दिनुहोस