५१ वर्षअघि दरबार लगिएको ‘तलेजुको नेकलेस’ कसरी अमेरिका पुग्यो ?

काठमाडौँ – अमेरिकामा रहेकी कला–सम्पदा एवं साहित्यकी जानकार श्वेताज्ञानु बानियाँले शुक्रवार सिकागो म्युजियममा ‘तलेजु नेकलेस’ भेटिएको सूचना ट्वीटरमार्फत सार्वजनिक गर्नुभएको थियो।

मल्लकालीन समयदेखि नेवार समुदायले इष्टदेवीका रूपमा पुज्दै आएको तलेजु भवानीको गलामा रहने हार (नेकलेस) अमेरिकाको सिकागोमा भेटिएको उक्त सूचनाबारे जानकारी तलेजु मन्दिरका मूल पुजारी उद्धवमान कर्माचार्यले पनि पाए । ‘वर्षौंदेखि हराइरहेको हार सिकागो आर्ट इन्स्टिच्युटअन्तर्गतको म्युजियममा प्रदर्शनीमा राखिएको सुन्दा अचम्म लागेको मूल पूजारी कर्माचार्य बताउछन्।

मूल पुजारी कर्माचार्यका अनुसार झन्डै ४ सय वर्षअघि (संवत् १६९८ मा) राजा प्रताप मल्लले तलेजु मन्दिरमा पूजा गर्ने चलन बसाएका थिए । कर्माचार्यहरू नै हालसम्म यो मन्दिरमा मूल पुजारी रहिआएको उहाँले बताउनुभयो।

‘तलेजु नेकलेस’ कसरी अमेरिका पुग्यो ?

६३ वर्षीय उद्धवमानका अनुसार २०२७ सालमा तलेजुको गरगहना छानबिन तथा लगत निर्धारण अध्ययन गर्न भनेर उठाएर लगिएको थियो । त्यही बेला तलेजुको हार पनि लगिएको उहाँ सम्झनुहुन्छ,‘त्यस बेला मेरा बुबा केशवमान तलेजुको मूल पुजारी हुनुहुन्थ्यो । गरगहना छानबिन गर्ने भनेर आएको टोलीमा राजदरबारका सदस्यसहित गुठी संस्थान, अञ्चलाधीश कार्यालय, संस्कृति मन्त्रालयसमेतका अधिकारी थिए ।

उहाँका अनुसार तलेजुमा रहेका ३ सयभन्दा बढी गरगहना, प्राचीन भाँडाकुँडा र सम्पत्तिको अभिलेख (लिखत) राखिएको थियो । त्यसबेला झन्डै एक महिना लगाएर तलेजुका सबै सरसम्पत्ति उठाइएको थियो । तर, ती सामान र त्यसको लगत कहाँ लगिएको हो, कहिल्यै थाहा नभएको मूल पुजारी उद्धवमानले बताउनुभयो।

अहिले ५१ वर्षपछि तलेजुको नेकलेस सिकागोमा रहेको सूचना पाएपछि उहाँ आश्चर्य व्यक्त गर्नुहुन्छ । त्यसबेला तलेजु मन्दिरका अमूल्य गरगहनालाई सुरक्षित बनाउन भन्दै लगिएको उहाँको भनाइ छ । दरबारका सदस्यहरुकै उपस्थितिमा अभिलेखका लागि भन्दै लगिएको अमूल्य गहना कसरी अमेरिका पुग्यो भनेर आफूलाई आश्चर्य लागेको उहाँले बताउनुभयो।यसअघि ललितपुरबाट वर्षौंअघि हराएको प्राचीन मूर्ति पनि अक्सनमा राखिएको अवस्थामा फेला परेको थियो।

प्रतिक्रिया दिनुहोस