उपत्यकामा जोरबिजोर लगाएर सार्वजनिक यातायात खोल्नेबारे छलफल

काठमाडौं– काठमाडौं उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले स्वास्थ्य कार्यालयहरुको रायअनुसार सार्वजनिक यातायात सञ्चालनको विषयमा निर्णय गर्न सिफारिस गरेको छ।

काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले सार्वजनिक यातायात सञ्चालनका सन्दर्भमा जिल्लास्थित स्वास्थ्य कार्यालयहरुको राय लिएर निर्णय गर्न सिफारिस गरेको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले डीसीसीएमसीको बैठकले सार्वजनिक यातायात सञ्चालनको विषयमा स्वास्थ्य कार्यालयको राय लिएर निर्णय गर्न सिफारिस गरेको जानकारी दिइन्।

डीसीसीएमसीको बैठक सकिएपछि आइतबार अपराह्न तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको छ। बैठक जारी रहेपनि निषेधाज्ञाका विषयमा सोमबार बिहान मात्रै निर्णय हुने सहायक प्रजिअ घिमिरेले जानकारी दिइन्।

‘जोरबिजोर नम्बर प्रणाली लागू गरी सार्वजनिक यातायात सञ्चालन गर्न सकिने विषयमा डीसीसीएमसीमा पनि छलफल भएको थियो। डीसीसीएमसीको बैठकले स्वास्थ्य कार्यालयको राय लिएर निर्णय लिन सकिने भनेको छ,’ सहायक प्रजिअ घिमिरेले भनिन्।

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि भन्दै वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको थियो। पछिल्लो पटक निजी सवारीका साधनहरु जोरबिजोर र विभिन्न क्षेत्रका पसलहरु बारअनुसार खोल्न मिल्नेगरी निषेधाज्ञा खुकुलो बनाइएको छ।

निषेधाज्ञा खुकुलो बनाएको अवस्थामा पनि संक्रमणदर पहिलेकै अवस्थामा रहेको भन्दै सार्वजनिक सवारीका साधनहरु समेत सञ्चालन गर्नुपर्ने व्यवसायीहरुको माग छ। यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालनामा गम्भीर नबने संक्रमण अझै फैलिने बताउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस