आजै खोजौं हामी धर्ममा यौन र वेदमा विज्ञान


मनोज पोखरेल

“जब म बच्चाहरूको हँसिलो अनुहार हेर्छु, मलाई मात्र थाहा हुन्छ कि उनीहरूले मलाई केहि हिर्काउने योजना गरिरहेका छन्।” होमरको यो भनाई आजको बोर्डिङ स्कुलमा हरेक शिक्षकले सोच्ने विचार हो । प्राचीन युनानी कवि होमरले युनान सभ्यतालाई विश्वसामु चहकिलो रूपमा प्रस्तुत गरेका थिए । होमरको यो भनाई विश्वसामु परिचित रहँदा हाम्रा धर्मग्रन्थ र हाम्रा परम्परा किन गुह्य छन् ?

गुरुकुलीय पद्धति हुँदै विद्यालयको परियोजनामा अहिले सामान्य रूपमा मात्रै पढिदै र देखिँदै आएको यौन मनोविज्ञानलाई नेपाली समाजसामु पढाउन अझै सकिएको छैन । सेक्सपियरको यौन मनोविज्ञानलाई पच्छ्याउँदै विपि कोइरालाहरूमा त्यो प्रवृत्ति देखिएसँगै धार्मिक ग्रन्थहरू र हाम्रा संस्कार र संस्कृतिमा पनि यौन मनोविज्ञानलाई व्याख्या गर्न खोजिएको देखिन्छ । राजसी सुख र ऐशको सुरुवात त स्वर्गका राजा इन्द्रका पालामा नै अप्सराहरू र इन्द्रको लीलाबाट देखिन्छ । इन्द्र प्रवृत्तिलाई स्वर्गमा नै मात्र सीमित नराख्न पछि पृथ्वीमा अरू अरू राजाहरूले पनि यो प्रवृत्तिलाई पच्छ्याउँदै आएका थिए । त्यो प्रवृत्तिलाई बिचको कुन समयमा गलत व्याख्या भयो वा बुझाई अन्यथा भयो सर्लक्क त्यसले अर्को पाटो समात्यो ।

धार्मिक ग्रन्थहरू र संस्कारहरूमा खुलेर नै यौन मनोविज्ञानलाई प्रष्टाउन खोजिएको छ तर समाजमा आजसम्म त्यो बिचको प्रवृत्ति जसले यौनको व्याख्यामा गलत पाटो समात्यो जसले गर्दा आजसम्म पनि हाम्रो समाजमा यौन गुह्य चीज रह्यो जो खुलेर व्याख्या गर्न नमिल्ने बनाइयो । मन्दिरका टुँडालहरुदेखि लिएर धार्मिक ग्रन्थहरूमा कथाको रूपमा चित्रण गरिए तापनि समाजले यसलाई छाडा प्रवृत्तिमा नै लिइरह्यो ।

धार्मिक युगमा यो विषय सँगै अन्य विषयहरूको पनि व्याख्या गरियो । त्यो बेलाको भाषा संस्कृत रहेकाले भाषागत स्पष्टता र शुद्धता कायम राख्न व्याकरणको व्यवस्था गरियो । वेदका ६ शाखाहरू शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द र ज्योतिषलाई सहज रूपमा समाजमा बुझाउन अलग अलग रूपमा व्याख्या गरिएको थियो । यसका अलावा नीतिग्रन्थ, मनुस्मृतिहरूले पनि समाजलाई शिक्षा र सुधारको बाटोमा डोहोर्याउन थाले ।

दर्शनशास्त्र र न्यायशास्त्रहरूको व्याख्या अहिले पुर्वीय र पाश्चात्य विद्वानहरूले आफ्नो आफ्नो ढङ्गबाट गरिरहेका छन् । वेदलाई आधार मानेर कतिपयले विज्ञानको व्याख्या गरे र खोज प्रवृत्तिलाई पच्छ्याए भने कतिपयले पुजेरै मात्र बसिरहे । पुज्नेले के पाए त थाहा भएन तर बुझ्नेले संसारलाई विज्ञानको बाटोमा लगिदिए । समाजलाई सुधार्नलाई पुज्ने हैन अब बुझ्ने बाटोमा हामी चाहिँ अझै लम्किएका छैनौँ भन्ने देखियो । नेपालको वर्तमान राजनीतिक अवस्था र देशको संक्रमणकालीन अवस्थामा हामीले पुज्ने होइन अब बुझ्ने प्रवृत्तिलाई अंगाल्न जरुरी देखियो ।

परम्परागत सोचमा रुमलिएको समाजलाई अब युवाले नयाँ दिशा निर्देश गर्न र नयाँ पथको चिनारी समाजलाई गराएर जन आन्दोलनको समयमा अति प्रयोग गरिएको अग्रगामी छलाङ शब्द अब शब्दमा मात्र नभएर यथार्थमा उतार्न अग्रसर हुनुपर्ने बेला आएको छ । वेद, विज्ञान, यौन र समाजको अन्तरसम्बन्धलाई केलाउन लागिपर्नुपर्ने अवस्था आएको छ ।

प्रतिक्रिया दिनुहोस