पारित भयो सुदूरपश्चिम बजेट

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र एमाले ओली समूहको असहमतिका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित भएको छ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याएको ३० अर्ब ३३ करोड बराबरको बजेट सोमबार बिहान बसेको प्रदेशसभाको बैठकबाट बहुमतले पारित भएको हो ।

गत असार १ गते प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाशबहादुर शाहले अगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । बजेट माथिको छलफलका क्रममा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रकै सांसदहरुबाट विरोध भए पनि अन्ततः अर्थमन्त्री शाह प्रदेश सभाबाट बहुमतले पारित गराउन सफल भएका हुन् ।

सत्ता पक्षकै सांसदहरुले ‘विचौलियाहरुसँगको सेटिङमा ल्याइएको बजेट’ले प्रदेशको समृद्धि हासिल नगर्ने भन्दै संशोधनको माग गरेका थिए ।सभामा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री शाहले सोमबार उक्त आरोपबारे गम्भीर असहमति रहेको बताएका छन् । ‘विचौलिया राखेर बजेट ल्याइएको भन्ने विषयमा मेरो गम्भीर असहमति छ’ शाहले भने, ‘कसैले स–प्रमाण ल्याएमा त्यस्ता कार्यक्रम र योजना रोक्का र खारेज गर्न म प्रतिबद्ध छु । अहिलेको बजेट कानूनी आधार तय गरेर आएको छ ।’ शाहले वार्षिक कार्यक्रम पुस्तिकामा त्रुटीका कारण दोहोरो परेका, नाम र ठेगाना फरक परेका योजनाहरु सच्याउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस