धान रोप्ने प्रविधिको प्रयोग बढ्दो, चितवनमा ६० प्रतिशत सकियो धान राेप्ने काम

चितवन, असार १४ गते । छिटो मनसुन सुरु भएको कारण चितवन जिल्लामा ६० प्रतिशत धान रोपिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालका अनुसार यस वर्ष पानी छिटो परेको भएर धान रोपाइ धेरै स्थानमा भएको छ ।

जिल्लाको कुल क्षेत्रफलको ४६ हजार ८९७ हेक्टर खेतीयोग्य जमीन रहेकोमा ४४ हजार २९१ हेक्टर क्षेत्रफलमा खेती भइरहेको छ । खेतीयोग्य जमीनको ७२ प्रतिशत क्षेत्रफलमा सिँचाई सुविधा पुगेको भए पनि २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा मात्र धान खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख ढकालले जानकारी दिनुभयो ।

मनसुन समयमा भएको कारण यस वर्ष धान खेतीको क्षेत्रफल बढ्ने अनुमान गरिएको छ । कार्यालयका अनुसार तीन वर्ष अगाडि जिल्लामा २९ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको थियो । भूखण्डीकरण, अन्य खेतीमा आकर्षणलगायतको कराणले धान खेतीको क्षेत्रफल घटेको प्रमुख ढकालले बताउनुभयो ।

नेपालमा सूचित गरिएका १३० जातका धानमध्ये चितवनमा सावित्री, सावा मन्सुली, सब १, स्वर्ण सब १, रामधान, हर्दिनाथ १, चैते ५, बहुगुणी १, बहुगुणी २ लगायतका धानहरु लगाउने गरिन्छ ।
चितवनका किसानहरु करिब ४० प्रतिशत क्षेत्रफलमा हर्दिनाथ तथा त्यति नै संख्यामा पिआर धान लगाउने गरेका ढकालको भनाइ छ । यस वर्ष करिब पाँच हजार ६९५ किलो सूचिकरणमा नरहेको गोरखनाथ धानको बिउ बरामद गरेर नष्ट गरिएको भन्दै ढकालले उक्त बिउ बिक्री वितरण गर्ने पाँच जना व्यवसायीलाई कारबाही गरिएको बताउनुभयो ।

धानखेतीमा प्रविधिको प्रयोग
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका सूचना अधिकारी माधव पौडेलले जिल्लामा प्रविधिको प्रयोग वृद्धि हुदै गएको जानकारी दिनु भयो । उहाँका अनुसार धान रोप्ने, झ गोड्ने, धान काट्ने, पराल उठउाने, जमिन सम्याउने, गहुँ काट्ने मकै छोडाउने रोप्ने लगायतको आधुनिक प्रविधिको प्रयोग हरेक वर्ष वढेको जानकारी दिनुभयो ।
आधुनिक प्रविधिबाट मात्रै यस वर्ष एक सय विगाह क्षेत्रफलमा धान रोपाइ भएको जानकारी दिनु भयो । धुलोमा सिधै धान छर्ने सिड फर्टिलाइजरको माध्यमबाट ७० विगाह क्षेत्रफलमा रोपाइ भइसकेको बताउनु भयो । त्यस्तै गरी तीन प्रकारका धान रोप्ने आधुनिक मेसिनले ३० विगाह क्षेत्रफलमा रोपाइ भएको छ । जिल्लाको भरतपुर महानगरपालिकामा १५ विगाह, खैरहनी, रत्ननगर र कालिका नगरपालिकामा गरी १५ विगहा क्षेत्रफलमा मेसिनले धान रोपेको पौडेलले बताउनुभयो ।

प्रविधिको प्रयोगबाट खेती गर्दा लागत कम हुने, थोरै जनशक्तिबाट काम गर्न सकिने, छिटो र सजिलो तरिकाले खेती लगाउने र भित्राउन सकिने भएकाले प्रविधिको प्रयोग हरेक वर्ष वढेको बताउनु भयो । चैते धान भित्राउनको लागि ९० प्रतिशत मेसिनको प्रयोग हुदै आएको कार्यालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइका वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सेनाले यान्त्रिकीकरणको प्रयोगमा खेती गर्दा कृषकको उत्पादन लागतमा ५० प्रतिशत कमी आउने जनकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस