काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर घटेर १५ प्रतिशत पुग्यो

काठमाडौं । काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर १५ प्रतिशतमा झरेको छ । सङ्क्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको सङ्ख्या पनि घटेको छ ।

पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।

महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ । एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा सङ्क्रमण पुष्टि हुने गरेको थियो ।

अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

अघिल्ला हप्तामा अत्यधिक कोरोना सङ्क्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो ।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको सङ्ख्या घटेको र आउने मध्येमा पनि थोरैमा मात्र सङ्क्रमण देखिएको छ ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लग्ने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ ।

यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । उक्त एम्बुलेन्स सेवा कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ ।

त्यसका लागि आवश्यक पर्ने जो कोहीले महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्ने छ ।

६३ हजार सङ्क्रमित निको

हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय सङ्क्रमित छन् । कोरोना सङ्क्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन् ।

महानगरपालिकामा हाल रहेका सङ्क्रमितमध्ये तीन हजार ७२२ होम आइसोलेशनमा छन् भने १३५ संस्थागत आइसोलेशनमा र २२४ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ को सङ्क्रमण विरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरे अनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न सम्झौता गरी सेवा विस्तार गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा आठ हजार ५०८ सक्रिय सङ्क्रमित छन् । त्यसमा काठमाडौँमा चार हजार ३९१, भक्तपुरमा एक हजार ७३२ र ललितपुरमा दुई हजार ३८५ सक्रिय सङ्क्रमित छन् ।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजार ३३६ मा झरेको छ । पच्चीस जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा माथि रहेको छ ।

प्रतिक्रिया दिनुहोस