भाइरसको सङ्क्रमण निको भै ढुक्क संग बसेकाहरुको लागि आयो दुखि बनाउने खबर -‘देखिँन थाल्यो यस्ता गम्भीर समस्या’

काठमाडौं । कैलालीको टीकापुरकी २३ वर्षीया एक युवतीलाई भाइरसको सङ्क्रमण देखियो । लक्षण देखिएपछि निकै कमजोर भएकी उहाँलाई सङ्क्रमण देखिएको २८ दिनपछि सङ्क्रमण मुक्त भयो । सङ्क्रमणबाट मुक्त भए पनि उहाँको स्वास्थ्यमा समस्या रहिरह्यो । “मलाई सास फेर्न गाह्रो हुने, छाती दुख्ने, खोकी लाग्ने समस्याले छोडेन”, युवतीले भन्नुभयो, “कोरोना सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्य समस्या रहेपछि म टीकापुर अस्पताल गएँ ।”

स्वास्थ्य परीक्षण गर्दा अझै समस्या रहेको देखिएपछि चिकित्सकले ती युवतीलाई औषधि दिनुभयो र खानपिनमा ध्यान दिन भन्नुभयो । सङ्क्रमण निको भइसकेपछि पनि समस्या हुने अनुभव उहाँको छ । टीकापुरका ४० वर्षीय युवकलाई सङ्क्रमण निको भएको एक महिना भइसकेको छ । बरु सङ्क्रमणको समयमा कुनै स्वास्थ्य समस्या नदेखिएका युवक सङ्क्रमण मुक्त भएपछि अस्वस्थ हुनुहुन्छ । सास फेर्न गाह्रो हुने र अक्सिजनको मात्रा बेलाबेला घटिरहने समस्या भएको उहाँ बताउनुहुन्छ ।

सङ्क्रमणबाट मुक्त भइसक्दा पनि सुधार नआएपछि हाल उहाँ काठमाडाँैमा उपचाररत हुनुहुन्छ । “परिवार नै सङ्क्रमित हुँदा धेरै समस्या भयो, उपचारका लागि आर्थिक जोहो गर्न निकै कठिन भयो”, युवकले भन्नुभयो, “काठमाडाँैमा बस्न, खान र उपचार निकै खर्चिलो छ । जताततै आफन्तसँग ऋण मागेर चलिरहेको छु । फोक्सोमा सङ्क्रमण भएको देखिएको छ”, उहाँले भन्नुभयो ।

जानकी गाउँपालिकाकी एक ५० वर्षीय महिलालाई पनि पोजेटिभ देखियो । उहाँको २१ दिनमा नेगेटिभ रिपोर्ट आयो तर स्वास्थ्यमा सुधार भने आएन । स्वास्थ्य जाँचपछि अब चिकित्सकले इनहेलर (सास फेर्न सहज हुने औषधि) औषधि सेवन गर्नु भनेको उहाँले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालका चिकित्सक रमेश उपाध्याय हाल अस्पतालमा कोभिडपश्चात समस्या भएका एक/दुई बिरामी नियमित आइरहेको बताउनुहुन्छ । “कसैलाई गाह्रो हुँदैन, कसैको फोक्सोमा सङ्क्रमण भएको देखिन्छ”, डा उपाध्यायले भन्नुभयो, “समस्या हेरेर उपचार गरिरहेका छौँ । कसैलाई निको हुन ५० दिनसम्म लागेका बिरामी पनि छन् ।”

उपाध्याय सङ्क्रमण देखिएकाहरुले स्वास्थ्य परीक्षण, छातीको एक्सरेजस्ता कुरा समयमै गर्नुपर्ने सुझाव दिनुहुन्छ । “समयमै ख्याल नगरे पछि समस्या हुन्छ । समस्या धेरै भइसकेपछि उपचारमा आउँदा ज्यान जानसक्छ”, उहाँ भन्नुहुन्छ, “कोरोना सङ्क्रमित अधिकांशलाई फोक्सोमा समस्या, निमोनिया हुनेजस्ता समस्या देखिएका छन् । कोरोनाको असर जीवनभर रहन पनि सक्छ । नियमित स्वास्थ्य परीक्षण र स्वास्थ्यमा ध्यान दिन जरुरी छ ।”

सङ्क्रमित र तिनका परिवार अधिकांशलाई मनोसमस्या देखिन थालेको छ । टीकापुर–२ का एक १८ वर्षीय बालकलाई सङ्क्रमण देखियो । ज्वरो निकै बढेपछि उनी बर्बराउन थाले । बालकलाई करिब एक साता निकै गाह्रो भयो । पछि उनमा मनोसमस्या देखियो । “डराउने, लुक्ने, घरबाट भाग्ने गर्न थाल्यो”, बालकका काकाले भन्नुभयो, “उसलाई थुनेर राख्नुपर्ने अवस्था आयो । छोरालाई एक्लै छाड्न नमिल्ने अवस्था आएपछि हामी दुई काका ऊसँगै रातदिन बस्न थाल्यो । हामी पनि सङ्क्रमित भयौँ ।” हाल बालक र बालकका दुई काका सङ्क्रमण मुक्त भइसक्नुभएको छ । “सङ्क्रमण निको भएपछि बच्चालाई उपचारमा लग्यौँ, चिकित्सकले केही दिन परामर्श गर्नुभयो । निदाउने औषधि दिनुभयो”, बालकका काका भन्नुहुन्छ, “आजभोलि मनोपरामर्शकर्ताले भर्चुअल माध्यमले परामर्श दिइरहनुभएको छ ।”

कैलालीको टीकापुर नगरपालिकाले सङ्क्रमित र सङ्क्रमितका परिवारमा मनोसमस्या देखिन थालेपछि मनोसामाजिक क्षेत्रमा काम गरिरहेका संस्थालाई गुहारेको छ । कैलालीमा कार्यरत एक संस्थाले टीकापुरमा सङ्क्रमितका घरमा पुगेर मनोपरामर्श दिने काम थालेको छ । “हामीले गत वर्षदेखि अहिलेसम्म करिब ३०० लाई परामर्श दिएका छौँ”, मनोसमाजिक परामर्शकर्ता धनराज विक भन्नुहुन्छ, “विद्यालय उमेरका बालबालिकादेखि सबैलाई यो सेवा दिएका छौँ । समयमै परामर्श सेवा र उपचार पाए दुर्घटना हुनबाट जोगाउन सकिन्छ ।”

टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावल स्वास्थ्यमा पनि मनोसमस्यालाई समस्याका रूपमा स्थानीय सरकारले नबुझेका कारण समस्या भएको बताउनुहुन्छ । “हरेक स्थानीय तहमा मनोचिकित्सक आवश्यक छन् । मानिस अन्य उपचार गर्छन्, तनाव व्यवस्थापनमा ध्यान छैन”, उहाँ भन्नुहुन्छ, “सङ्क्रमितका घरदैलोमा हामी पुग्ने काम गरिरहेका छौँ, केहीलाई यस्तो समस्या देखिएको छ । समस्या भएकालाई चिकित्सकसम्म पुर्याउने काम हामीले गरिरहेका छौँ ।”

कैलालीको टीकापुर अस्पतालमा वैशाखयता कोरोना सङ्क्रमणका कारण ५० जनाको मृत्यु भएको छ । अस्पतालबाट सङ्क्रमण निको भएर १९३ जना घर फर्किएका छन् । कोरोना महामारीपछि वैशाख १६ गतेदेखि बन्द रहेको बहिरङ्ग सेवासमेत असार ८ गतेबाट शुरु गरेको छ । महामारी पछि कोरोना सङ्क्रमितको उपचार, अत्यावश्यक सेवा दुर्घटना, आमासुरक्षाका कार्यक्रम, प्रसूति सेवामात्र सञ्चालनमा राखेको अस्पतालले हाल सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।
-taja khabar

प्रतिक्रिया दिनुहोस