हजुरआमाले छोरी मरेको थाहा नपाउन् भनेर महिलाले १३ वर्षसम्म ‘नक्कली आमा’ भाडामा राखिन्

काठमाडौं। चीनकी एक महिलाले आफ्नी हजुरआमा दुखी नहोउन् भनेर १३ वर्षसम्म नक्कली आमा भाडामा राखिन् । भाडामा राखिएकी महिलाले ती वृद्ध महिलासँग उनकी छोरी बनेर फोनमा कुरा गर्थिन् । आफ्नी छोरी मरेको खबर हजुरआमाले थाहा नपाउन् र छोरी जीवितै भएको सोचुन् भनेर उनले यसरी नक्कली आमाभाडामा राखेकी थिइन् ।

चीनको शाङसी प्रान्तको शियानयाङकी ४६ वर्षकी चेंग जिंगले आफ्नी दिवंगत आमा चेंग कोंगरोंग बनेर आफ्नी हजुरआमा हे फुयुसँग कुरा गर्नको लागि महिलालाई भाडामा राखेकी थिइन् किनकि उनकी आमाको ६९ वर्षको उमेरमा फोक्सोको क्यान्सरका कारण मृत्यु भइसकेको थियो तर आफ्नी एक्ली छोरीको मृत्यु भएको हजुरआमालाई जानकारी दिइएको थिएन ।

जिंगकी हजुरआमा शिचुआन प्रान्तमा बस्थिन् । जिंगले भाडामा राखेकी महिलाको आवाज धेरै हदसम्म उनकी आमासँग मिल्थ्यो । तर, सुरुमा उनकी हजुरआमाले आफूसँग फोनमा बोल्ने आफ्नो छोरी होइनन् भन्ने थाहा पाइन् । उनले फोनमा आफ्नी छोरी बोलिरहेको पत्याइनन् । त्यसपछि जिंगले हजुरआमालाई आमालाई रुघा लागेकोले आवाज बिग्रिएको भनेर विश्वास दिलाइन् ।

नक्कली आमा बनेकी चेन वेइपिङले नियमित रुपमा हेलाई फोन गर्थिन् किनकि हे आफ्नी छोरीसँग निकै निकट थिइन् । तर, उनले विभिन्न बहाना बनाएर वृद्धासँग भेट्ने कुरा भने टारिरहिन् । यसका लागि उनले मुटुको सर्जरीको समेत बहाना बनाएकी थिइन् । ‘मेरी हजुरआमा ३० वर्षको उमेरमै विधवा हुनुभएको थियो र मेरी आमालाई एक्लै हुर्काउनुभएको थियो’ जिंगले चाइना डेलीसँग भनिन् ।

उनले थपिन् ‘सुरुमा हजुरआमाले चेनको आवाज सुनेर अल्मलिनुभयो र को बोलिरहेको भनेर सोध्नुभयो । चेनले आफू उहाँकी छोरी भएको बताउँदा हजुरआमाले पत्याउनुभएन । मैले उहाँलाई मानिसहरुको आवाज कहिलेकाहीँ फोनमा फरक सुनिन्छ भनें तर अझै पनि उहाँले पत्याउनुभएन । त्यसपछि चेन र आमाले पारिवारिक कुरा गर्न थालेपछि हजुरआमाको शंका हराउँदै गयो ।’

जेन र उनको परिवारले हजुरआमालाई उनको मृत्यु हुँदासम्म नै भ्रममा राख्न सफल भए । हजुरआमाको मृत्यु उनको १०० औं जन्मदिनको २ महिनापछि भयो । उनले आफ्नो मृत्यु हुँदासम्म आफ्नी छोरीको मृत्यु भइसकेको कहिल्यै थाहा पाइनन् । नातिनीका अनुसार खासमा हजुरआमालाई यसरी भ्रममा राखेर दुखी हुन नदिने तरिका उनकी दिवंगत आमाले नै निकालेकी थिइन् ।

जेनकी आमाले अब धेरै बाँच्दिन भन्ने थाहा पाएपछि आफ्नी आमाका लागि दर्जनौं सन्देशहरु रेकर्ड गर्न थालेकी थिइन् । हजुरआमालाई आफ्नी छोरी बिरामी भएको थाहा थिएन । आमाले आफ्ना छोराछोरीलाई आफ्नो मृत्युपछि यी सन्देशहरु आफ्नी आमाका लागि फोनमा बजाइदिन आग्रह गरेकी थिइन् ।

रेकर्ड गरिएका सन्देशमा कोंगरोंगले विभिन्न मौसमहरुको बारेमा कुरा गरेकी थिइन् । उनले चिसो मौसमप्रति गुनासो गर्दै आमालाई औषधि खाइरहन आग्रह पनि गरेकी थिइन् । उनले रेकर्ड गरेका सन्देशहरु वर्षभरी फरक फरक मौसममा बजाउन मिल्ने थिए । तर, वर्षौंसम्म यी सन्देश बजाएपछि सन्देश दोहोरिन थालेका थिए र हजुरआमाले शंका गर्न थालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस