देउवालाई ७ चोटि प्रधानमन्त्रीको भविष्यवाणी गर्ने ज्योतिषको बूढानीलकण्ठमा खोजी

काठमाडौं : सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना सहित काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त गर्न परामादेश दियो । सर्वोच्चको फैसलासँगै देउवानिवास बूढानीलकण्ठमा काँग्रेसका नेता–कार्यकर्ताहरु भेला हुन थालिसकेका थिए । देउवा निवासमा नेता–कार्यकर्ताहरु पुष्पगुच्छा र फूलमालासहित आएका थिए । सबैले देउवालाई बधाई दिए । बधाई थाप्न भ्याई नभ्याई भयो ।

विशेषगरी सुदूरपश्चिमेली कार्यकर्ताहरु र देउवासँग निकट मानिने केन्द्रीय नेताहरुको उपस्थिति बाक्लिँदै गयो । देउवाले उनीहरुसँग आन्तरिक छलफल गरे।यसै क्रममा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवालाई ७ पटक प्रधानमन्त्री बन्ने योग रहेको बताउने ज्योतिष सँग भेट्न चाहेको बताए । शर्माले भने, ‘सभापतिज्यू तपाईंको ज्योतिषसँग एकपटक मैले पनि भेट गर्नुपर्ने देखियो । मलाई भेट गराउनुपर्यो ।’

शर्माले यति भनेपछि उपसभापति विमलेन्द्र निधि बोले, ‘भाइहरूको पालो मेरोपछि आउँछ, पहिले त मैले पो भेटिनुपर्ने भयो ।’ विमलेन्द्र र विश्व प्रकाशको कुरा सुनिसकेपछि सबै नेताहरु हाँसे। त्यहाँ उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सह महामन्त्रीद्वय प्रकाशशरण महत, सुनिलबहादुर थापा, पूर्वसहमहामन्त्री रामशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाण, सांसदहरु डिला संग्रौला, बहादुरसिंह लामा,मानबहादुर विश्वकर्मा र उमाकान्त चौधरी लगायत उपस्थित थिए ।

त्यसो त बूढानीलकण्ठमा ज्योतिषको चर्चा हिजो मात्र भने भएको होइन । यसअघि गत चैतमा पनि पत्रकार महासंघको चुनावका सन्दर्भमा छलफल हुँदा पनि देउवाका ज्योतिषको चर्चा भएको थियो । त्यो दिन नेता कृष्णप्रसाद सिटौला र मिनेन्द्र रिजालले ‘ज्योतिषले तपाईंलाई सात पटक प्रधानमन्त्री हुने योग रहेको बताए । त्यो हुँदा त हाम्रो त पालै पो नआउने देखियो’ भन्दै ठट्टा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस