भारतले एन्टार्कटिका महादेशमा नयाँ वनस्पति पत्ता लगायो

भारतीय वैज्ञानिकहरूले एन्टार्कटिका महादेशमा वनस्पतिको नयाँ प्रजाति पत्ता लगाएका छन्।ध्रुवीय जीवशास्त्रीहरूले सन् २०१७ मा उक्त हिउँले ढाकिएको महादेशमा काईको एउटा प्रजाति भेटेका थिए।

प्रजाति पहिचान लामो र गाह्रो प्रक्रिया भएका कारण वैज्ञानिकहरूलाई त्यो प्रजाति पहिलो पटक भेटिएको पुष्टि गर्न पाँच वर्ष लागेको हो।सो खोजको बारेमा लेखिएको वैज्ञानिक लेख प्रख्यात अन्तर्राष्ट्रिय जर्नल, ‘जर्नल अफ एशिया-प्यासिफिक बायोडाइभर्सिटी’मा छाप्न स्वीकार गरिएको छ।

भारतले एन्टार्कटिका महादेशमा चार दशक पहिले अनुसन्धान स्टेशन निर्माण गरेयता यसरी नयाँ वनस्पतिको प्रजातिको खोज गरेको पहिलो पल्ट हो।एन्टार्कटिका मा भारतले सन् १९८४ मा पहिलो पल्ट स्थापना गरेको स्टेशन हिउँमा पुरिएपछि सन् १९९० मा बन्द भएको थियो।

सन् १९८९ मा स्थापित मैत्री र सन् २०१२ मा स्थापित भारती नाम दिइएका अनुसन्धान स्टेशन भने अहिलेसम्म चालु रहेका छन्।पन्जाब केन्द्रीय विश्वविद्यालयका जीवशास्त्रीहरूले सो वनस्पतिलाई ब्राइअम भारतीएनसिस् नामकरण गरेका छन्।भारती हिन्दु देवी सरस्वतीको एउटा नाम हो।

प्रतिक्रिया दिनुहोस