साउन १ देखि बढ्यो सरकारी कर्मचारीको तलब, कसको कति पुग्यो ?

साउन १ गतेदेखि मासिक २ हजार रुपैयाँले सरकारी कर्मचारीको तलब वृद्धि भएको छ । यसअघिको केपी ओली नेतृत्वको सरकारले २०७८ साउन १ गतेदेखि सरकारी कर्मचारीको तलब २ हजार वृद्धि गर्ने बजेटमा प्रस्तुत गरेको थियो । यससँगै हिजोबाट सरकारी कर्मचारीको तलब बढेको हो ।

सरकार परिवर्तन भएसँगै अर्को बजेटको चर्चा चलिरहे पनि अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत आएको बजेट संसद्मा पेस गर्ने बताएका छन् । बजेटका विषयमा विभिन्न टीकाटिप्पणी सुनिरहेको पनि उनको भनाइ छ । ‘अध्यादेशमार्फत आएको बजेट सदनमा प्रस्तुत हुन्छ । सदनले नै के गर्छ, त्यहीँ थाहा हुन्छ,’ अर्थ मन्त्रालयमा शुक्रवार पत्रकारसँगको भेटमा उनले भने ।

निवर्तमान अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा २०७८ साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँले वृद्धि गरेको बताएका थिए ।.

प्रतिनिधिसभा नभएको बहानामा अघिल्लो सरकारले जेठ १५ मा अध्यादेशबाट बजेट ल्याइसकेको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशबाट बजेट ल्याएका हुन् । उक्त बजेटलाई अहिलेको सरकारले कार्यान्वयन गर्ने वा नयाँ बजेट आउने टिप्पणी चलिरहेका बेला अर्थमन्त्री शर्माले सोही बजेट संसद्मा पेस गर्ने बताएका हुन् ।

कसको कति तलब वृद्धि ?

साउन १ गतेदेखि मुख्यसचिवको तलब ६७ हजार १४० पुगेको छ । यसअगाडि मुख्यसचिवको तलब ६५ हजार १४० तोकिएको थियो ।

सचिवको तलब ६० हजार ६८० बाट बढेर ६२ हजार ६८० पुगेको छ । त्यस्तै, सहसचिवको ४७ हजार ३८० बाट बढेर ४९ हजार ३८०, उपसचिवको ४० हजार ३८० बाट बढेर ४२ हजार ३८०, शाखा अधिकृतको ३५ हजार ९९० बाट बढेर ३७ हजार ९९०, नायब सुब्बा (अतिरिक्त तलबमान) को ३० हजार ८२० बाट बढेर ३२ हजार ८२० पुगेको छ ।

यसै गरी नायब सुब्बाको २८ हजार २०० बाट बढेर ३० हजार २००, खरिदार (अतिरिक्त तलबमान) २७ हजार ५७० बाट बढेर २९ हजार ५७० र खरिदारको २६ बाट ६१० बढेर २८ हजार ६१० पुगेको छ ।

सरकारले २ हजार तलब निजामतिबाहेक शिक्षक, नेपाली सेना, प्रहरीलगायतका कर्मचारीको पनि बढाएको छ । २ वर्षदेखि तलब वृद्धि नगरेको सरकारले हाल तलबमा वृद्धि गरेको छ ।

यसै गरी कर्मचारीहरूलाई वर्ष दिनमा घुमघामका लागि बिदा दिने पनि सरकारले बजेटमा भनेको छ । अब बर्सेनि कर्मचारीले १० दिन भ्रमण बिदा पाउनेछन् ।

तलब वृद्धि गरेको सरकारले कर्मचारीको १ लाखको स्वास्थ्य बीमाको पनि व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस