ओलीका गोहीका आँशु हुन्,कसैले केही नपत्याउनु – प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा बोल्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको चरम आलोचना गरेका छन् । उनले एउटै प्रधानमन्त्रीले दुईदुई पटक संसद विघटन गरेको नेपाली इतिहास नभएको बताएका छन् ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिने प्रक्रियाका लागि जारी छलफलमा भाग लिँदै प्रचण्डले दलभित्रको आन्तरिक झगडाका कारण संसदलाई ‘भिक्टिम’ बनाउन नपाइने बताए।

‘पाँच वर्ष नपुग्दै दुईदुई पटक विघटन र अदालतबाट पुर्नस्थापित भएको अनुभव नेपालको इतिहासमा थिएन,’ प्रचण्डले भने, ‘दुई तिहाई भएको प्रधानमन्त्रीले संसद विघटन गरेर आफ्नै दल विभाजन गर्ने काम इतिहासमा पहिलो चोटी हो ।’

आफू नै पार्टी एकताको प्रस्तावक भएको भन्दै उनले अहिले संसदमा यस्तो यस्तो कुरा आफैंलाई दुःख लागेको उनको भनाइ थियो । ‘यस्तो दुरदशा यति छिटो देख्नुपर्छ भन्ने लागेको भए मैले किन पार्टी एकताको प्रस्ताव लैजान्थे होला ?,’ प्रचण्डले भने, ‘किन गठबन्धनको प्रस्ताव लैजान्थे होला ।’

प्रचण्डले सपथ ग्रहणमा नगएकोबाट निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भिन्न मतलाई स्वीकार नगर्ने स्वभाव देखिएको आरोप लगाए ।
सदनमा ओलीको अनुपस्थितिबारे पनि प्रचण्डले टिप्पणी गरे । ‘यो सदनले पनि केपी जीको मुखबाटै कुरा सुन्न चाहेको थियो,’ उनले भने, ‘देशले पनि निवर्तमान प्रधानमन्त्रीले के भन्नुहोला भन्ने कुरा सुन्न चाहेको थियो । यो मलाई स्वभाविक लागेको छैन् । यो अस्वभाविक र अलोकतान्त्रिक पनि हो ।’

प्रतिक्रिया दिनुहोस