आजबाट नेपालमा अमेरिकाको जोनसन खोप लगाईदै, हेर्नुहोस् खोप केन्द्रहरु

अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन कम्पनीको कोरोना खोप आजदेखि लगाइँदैछ । कोरोना भाईरसको खोपमा सरकार पुरै केन्द्रित हुने भनेर लागिपरेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज उपत्यकाका खोप केन्द्रहरुको भ्रमण निरिक्षण र अनुगमन गर्ने भएका छन् ।

अहिले बिहान १० बजे उनि केहि सरकारी र केही निजि अस्पतालको भ्रमण गर्ने भएका हुन् । उनले अस्पतालमा खोप केन्द्र राख्दा सजता असहजता के छ भनेर जानकारी लिने देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीले आज नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल, पाटन अस्पताल, ललितपुर लगायतका खोपकेन्द्रको निरीक्षण गर्नेछन् ।

स्वास्थ्य मन्त्रालयले अमेरिकाबाट आएको १५ लाख ३४ हजार भाइल खोप साउन ४ देखि ६ गतेसम्म लगाइने अघिल्लो साता तय गरेको थियो । यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका लागि तोकिएको छ । यो सँगै पूर्ण र अति अशक्त अर्थात क र ख वर्षका अपांग नागरिकहरु, नेपालमा बसोबास गरिरहेका शरणार्थीहरु र यसअघिको अभियानमा छुटेका फ्रन्टलाइनर कर्मचारीहरुलाई जोन्सन खोप उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

खोपका लागि काठमाडौंका १८ वटा अस्पताल र स्थानीय तहका खोप केन्द्रहरु गरी ४४ स्थान तोकिएको छ । नेपालमा यसअघि भारतीय कम्पनी एक्ट्राजेनेकाको कोभिशिल्ड र चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप दिइएको थियो । यी दुवै खोप दुई मात्रा लगाउनुपर्ने भए पनि अमेरिकाले उपलब्ध गराएका जोन्सन खोप भने एक मात्रा लगाउँदा नै पर्याप्त हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस