आधुनिक युगका कुम्भकर्ण जो वर्षमा ३०० दिन सुत्छन्, परिवारले निद्रामै खुवाउने, नुहाइदिने गर्छन्

काठमाडौं। हामीले रामायणमा लंकापति रावणका भाइ कुम्भकर्णको बारेमा सुनेका छौं । उनी निकै पराक्रमी थिए तर उनको एउटै समस्या थियो उनी लामो समयसम्म सुत्थे । अहिलेको समयमा पनि यस्तै एक व्यक्ति भेटिएका छन् ।

यी व्यक्ति एक वर्षमा ३०० दिनको समय सुतेरै बिताउँछन् । यस क्रममा उनलाई खाना खुवाउने, नुहाउने, शौचालय जाने काम सबै निद्रामै गर्नुपर्छ । भारतको राजस्थान राज्यको नागौर जिल्लामा पर्बतसर उपखण्डको भादवा गाउँका ४२ वर्षका पुरखाराम निकै दुर्लभ स्वास्थ्य समस्याबाट ग्रसित छन् जसका कारण उनी निदाइरहन्छन् ।

पुरखारामलाई एक्सिस हाइपरसोम्निया नामको दुर्लभ रोग छ । उनको परिवारका अनुसार एक पटक सुतेपछि उनी लगभग २० देखि २५ दिनसम्म बिउँझिँदैनन् । उनलाई यो रोगको सुरुवात २३ वर्ष पहिले भएको थियो । सुरुवाती दिनहरुमा पुरखाराम ५ दिनदेखि ७ दिनसम्म सुतिरहन्थे ।

परिवारले जति उठाउन प्रयास गरे पनि उठ्दैनथे । पुरखारामको निद्राबाट दिक्क भएका परिवारले उनलाई डाक्टरकहाँ पनि लिएर गएका थिए तर त्यतिबेला उनलाई के रोग लागेको हो भन्ने पत्ता लाग्नै सकेन । उनको सुत्ने समय भने बढ्दै गयो । अहिले पुरखाराम एकपटक सुतेपछि २०–२५ दिनसम्म उठ्दैनन् ।

जी मिडियाको टिमले विशेषज्ञ डा. बी आर जांगिडसँग यसबारे सोध्दा पुरखारामलाई एक्सिस हाइपरसोम्निया नामको रोग भएको खुलासा भयो । यो रोग लागेका व्यक्ति निद्राले ग्रसित हुन्छन् । पुरखारामको गाउँमै एक किराना पसल छ । पुरखारामले जी न्युजलाई बताएअनुसार उनलाई २०१५ देखि यो रोगले धेरै ग्रस्त बनाएको छ ।

करिब १८–१८ घण्टा निद्रा लाग्छ र कहिलेकाहीँ त एक पटक सुतेपछि २०–२५ दिनसम्म निदाइरहन्छन् । पुरखारामका अनुसार उनको पसलमा अखबार पनि आउँछ । जब उनले २०–२५ दिनपछि पसल खोल्छन् त्यतिबेला अखबारको मुठो भइसक्छ । उनले ती अखबार गनेर आफू कति दिनसम्म सुतिरहें भन्ने थाहा पाउँछन् ।

प्रतिक्रिया दिनुहोस