लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिँदै

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने भएका छन् । कानुनत एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
वैशाखमा उनले पुनः नियुक्ती लिएपनि अल्पमतको सरकार चलाइरहेको भन्दै विपक्षी गठबन्धनले लामो समयदेखि उनको विरोध गर्दै आएको छ ।

उनी अवैधानिक मुख्यमन्त्री रहेको भन्दै विपक्षीहरुले आवाज उठाइरहेको अवस्थामा उनले विश्वासको मत लिन तयार भएका हुन् । मंगलबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार भेटघाटमा बोल्दै सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले छिटै प्रदेशसभाबाट विश्वासको मत लिने बताएका हुन् । उनले भने, ‘विपक्षी गठबन्धनले वैधानिकताबारे धेरै प्रश्न उठाउनुभयो । त्यसैले अब छिट्टै मुख्यमन्त्रीले विश्वासको मत लिनुहुनेछ, हामी छिटै विश्वासको मत लिन्छौं । मत पाए सरकार चलाउछौं । नत्र छोडिदिन्छौं ।’

प्रवक्ता चौधरीले जनता समाजवादी पाटीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने बताए । संघीयतामा प्रदेशले फरक संरचना पनि बनाउन सक्ने भएकाले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने समेत जनाए । सोमबार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको थियो । जसको कारण लुम्बिनी सरकारलाई पनि संकट परेको छ । लुम्बिनीमा विपक्षी गठबन्धनको तर्फबाट माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रतिक्रिया दिनुहोस