पिसाब रोक्नु मिर्गौलाका लागि हानिकारक

महत्त्वपूर्ण कामको बीचमा कुनै काम सक्नका लागि हतार हुँदा, शौचालय नजिक नभएको बेलामा, सार्वजनिक यातायातमा यात्रा गर्दा वा कतिपटक लाजका कारण धेरैले पिसाब रोक्ने गर्छन् ।

पिसाब रोक्ने समस्या सबैले कुनै न कुनै समयमा सामना गरेका हुन्छौँ र प्रायः हामीलाई यसले गर्ने हानिका बारेमा थाहा हुँदैन । मानिसहरूले केही घण्टासम्म पिसाब रोकेर राख्न सक्छन् । तर, लामो समयसम्म पिसाब रोकेमा पिसाब पुनः मिर्गौला फर्किन सक्छ । पिसाब रोक्ने बानीका कारण शरीरको फोहोर पदार्थ बाहिर निस्कन नपाउँदा रगतमा फैलिएर अनेकौँ समस्या सिर्जना हुनसक्छ ।

पिसाब रोक्ने बानी मिर्गौलाका लागि हानिकारक हुनसक्ने विराटनरस्थित कोसी अस्पतालका कन्सल्ट्यान्ट जनरल सर्जन डा. रविन्द्र तामाङ बताउँछन् । ‘केही समयसम्म वा एक दुई पटक पिसाब रोक्नाले भने खासै केही फरक नपर्न सक्छ’, उनले भने, ‘तर नियमित रूपमा पटक–पटक वा घण्टौँ पिसाब रोकिरहनु मिर्गौलाको स्वास्थ्यका लागि उचित हुँदैन । पटक–पटक पिसाब रोक्नाले मिर्गौलामा नकारात्मक असर गर्न सक्छ ।’

उनका अनुसार पिसाब रोक्नाले पिसाब थैलीको मांशपेशी तन्किने हुन्छ । जसकारण पछि गएर पिसाब रोक्न गाह्रो हुने, पिसाब चुहिनेलगायत समस्या हुनसक्छ । साथै, लामो समयसम्म पिसाब रोक्नाले पिसाब पुनः माथितिर फर्कने, पिसाब थैलीमा सङ्क्रमण हुने वा हुनसक्ने सम्भावना बढाउने, पिसाब जम्नेलगायत विभिन्न समस्यासमेत निम्त्याउन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस