मन्त्रिपरिषद् बिस्तार ः नयाँ मन्त्रीहरु छान्न चार जना शीर्ष नेता गोप्य बैठक बस्ने

काठमाडौँ – सरकारमा जाने नेताहरुको नाम टुंग्याउनका लागि गठबन्धनका चार नेताहरुको गोप्य छलफल हुने भएको छ । बिहीबारसम्ममा मन्त्री परिषद् बिस्तार गर्ने गरि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव तथा नेकपा एमालेका नेता माधव कुमार नेपालबिच छलफल हुने भएको हो ।

बुधबार (आज) बेलुका ७ बजे हुने छलफलको स्थान गोप्य राखिएको छ । सो बैठकका लागि एमाले नेता नेपाललाई पनि बोलाइएको र उनी आउने संकेत रहेको स्रोतले जानकारी दिएको छ । बैठकमा अरु नेताहरु पनि सहभागी हुँदा मन्त्रीको नामलाई लिएर अलमल हुने भएकाले शीर्ष नेताहरु मात्रै वार्तामा जुट्न लागेका हुन् ।

अहिले एमाले नेता नेपाल देउवालाई विश्वासको मत दिने आफू पक्षीय सांसदहरुसँगको छलफलमा छन् । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खुमलटारमा मन्त्रीको नाम टुंग्याउने विषयमा सांसदहरुसँग छलफल गरिरहेका छन् । बुधबार बिहान बसेको गठबन्धनको बैठकले सरकारलाई तत्काल पूर्णता दिने र मन्त्री बन्नेको नाम टुंगो लगाउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस