श्रीलंकामा भेटियाे १२ अर्ब रुपैयाँ मूल्य बराबरको संसारकै ठूलो नीलम

काठमाण्डौ – श्रीलंकामा संसारकै ठूलो नीलम भेटिएको छ । पाँच सय दश किलो तौल भएको बहुमूल्य रत्न नीलम भेटिएको बीबीसीले जनाएको छ ।

श्रीलंकाको रत्नापुर क्षेत्रमा एउटा घरको आँगनमा इनार खन्ने क्रममा नीलमको एक विशाल ढिक्का भेटिएको हो । यसलाई ‘सेरेडिपिडी सफायर’ अर्थात भाग्यले जुराएको नीलम नाम दिइएको छ । कोरोनाको बेला श्रीलंकाको रत्न बजार ओरालो लागेको बेला यति ठूलो मात्रामा नीलम भेटिएपछि यसलाई भाग्यले जुराएको भनिएको हो ।​

रत्नापुर क्षेत्रलाई श्रीलंकाकै रत्न राजधानीको रुपमा लिने गरिन्छ । यस क्षेत्रमा विभिन्न समयमा विभिन्न प्रकारका रत्नहरु भेटिने गरेका छन् । यस पटक भेटिएको यो नीलम भने अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको बताइएको छ । विशेषज्ञका अनुसार यस नीलमको अन्तर्राष्ट्रिय मूल्य लगभग एक सय मिलियन डलर अर्थात झण्डै १२ अर्ब नेपाली रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

श्रीलंकाका रत्न व्यापारीकै घरको आगनमा नीलम भेटिएको हो । ती व्यापारीले सुरक्षा जोखिम हुनसक्ने भन्दै आफ्नो पूरा नाम र ठेगाना बताउन नचाहेको बीबीसीले जनाएको छ । यो नीलम एक वर्ष पहिले नै भेटाएको हो । नीलमको यो विशाल ढिक्का भेटाएपछि यसलाई सफा गर्न र यसमा रहेका खराब तत्वहरु निकाल्न एक वर्ष समय लागेको बताइएको छ ।

यो निकै उच्च गुणस्तरको नीलम भएको अनुमान गरिएको छ । रत्न विशेषज्ञ डाक्टर जैमिनी ज्योसाका अनुसार यो नीलम ४० करोड वर्ष पहिले बनेको हुनसक्ने बताउनुभएको छ । उहाँले नै यो नीलम अहिल.ेसम्मकै ठूलो भएको भनेर दाबी गर्नुभएको हो ।

श्रीलंका नीलम, पन्ना लगायत अन्य बहुमूल्य रत्न निर्यात गर्ने संसारमै प्रमुख देश हो । अघिल्लो वर्ष, कोरोनाको महामारीकै बीच पनि श्रीलंकाले ८० करोड रुपैयाँ बराबरको हिरा तथा रत्न निर्यात गरेको छ ।

प्रतिक्रिया दिनुहोस