कुच्चिएको थोत्रो चम्चाले भाग्य पल्टियो, ३० रुपैयाँमा किनेको चम्चा ४ लाखमा बिक्यो

काठमाडौं। कवाडीमा बेच्न राखिएको थोत्रो कुच्चिएको चम्चाले एक व्यक्तिको भाग्य पल्टिएको छ । यी व्यक्तिले लण्डनमा केवल २० पेन्स (३० रुपैयाँ) मा एउटा थोत्रो कुच्चिएको चम्चा किनेका थिए । यी व्यक्तिलाई त्यो चम्चा दुर्लभ मध्यकालीन चम्चा हुन सक्ने महसुस भइरहेको थियो ।

यो चम्चाले आफ्नो भाग्य बदल्न सक्ने महसुस भएरै उनले त्यो चम्चा किनेका थिए ।मेट्रोको रिपोर्टअनुसार चम्चा किनिसकेपछि यसको जाँच गराउँदा त्यो चम्चा १३ शताब्दीको अन्त्यतिर बनाइएको चाँदीको चम्चा भएको खुलासा भयो । उनलाई यो चम्चा दुर्लभ भएको थाहा भएसँगै उनले समरसेटका लरेन्स लिलामीकर्तासँग सम्पर्क गरे र लिलामीको लागि त्यो चम्चालाई दर्ता गराए ।

चम्चालाई अनलाई लिलामीको लागि दर्ता गराइएपछि त्यसलाई किन्न चाहनेहरुको बोलकबोल बढ्दै गयो ।केही समयसम्म बोलकबोल जारी रहेपछि अन्ततः त्यो चम्चा २ हजार ३७५ पाउण्डमा बिक्री भयो । यो चम्चा बिक्री भएपछि बिक्री गर्ने व्यक्तिले सामाजिक संजालमा आफूले आफ्नी छोरीको साथमा अनलाइनमा लिलामी हेरिरहेको र आफूलाई विश्वास नभएको लेखेका छन् । लिलामीकर्ताका अनुसार यी व्यक्ति अब पूर्वी इङल्याण्डमा विदा मनाउन यो पैसा खर्च गर्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस