नेपालमा ६० लाख खर्च गरेर सुगुरको मूर्ति निर्माण

काठमाडौं । नेपालमै ६० लाख खर्च गरेर सुंगुरको मूर्ति निर्माण गरिएको छ । हालसालै उदयपुरको बेलका नगरपालिकाले सुंगुरको मूर्ति निर्माण गरेको हो ।त्यहाँको बेलका नगरपालिका–७ मैनामैनी मूलगाउँमा उक्त मुर्ति बनाइएको छ । उक्त सुंगुरको मूर्तिको उचाइ १२ फिट छ भने लम्बाई १६ फिट रहेको छ ।

नगरपालिका प्रमुख दुर्गाकुमार थापाका अनुसार त्यसको लागत ६० लाख रुपैयाँ रहेको छ ।उहाँका अनुसार सो मूर्ति नगरपालिका आफैंले बनाएको हो । दशैंसम्म उद्घाटन गर्ने तयारी थालिएको छ ।

त्यहाँ धार्मिक पार्क पनि बनाउँने तयारी भइरहेको उहाँले उल्लेख गर्नुभयो । सुंगुरको यो मूर्तिको डिजाइन राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेको थियो । अहिले धनु याख्खा कलाकारले उक्त मूर्ति बनाइराखेका छन् ।

अहिले मूर्तिको मात्र काम भइरहेको छ । पार्कका लागि थप २० लाख बजेट छुट्याइएको पनि नगर प्रमुख थापाले जनाउनुभयो ।त्यसको ठेक्काको काम बाँकी रहेको छ । सो वडाका अध्यक्ष सुरेन्द्र राईले मेयर थापाकै अवधारणअनुसार सुंगुरको मूर्ति बनाइएको जानकारी दिनुभयो ।

त्यस ठाउँबाट बराह अर्थात बँदेल हाम फालेर बराह क्षेत्रमा पसेको भन्ने किम्बदन्ती रहेको छ । सोही अनुसार बराहको मूर्ति बनाउने निर्णय भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस