जुरे पहिराका पीडितले सात वर्षमा पनि राहत पाएनन्

हेरकखाले विपत्ति सिन्धुपाल्चोकमा भइरहे पनि पीडितले अहिलेसम्म न्याय पाउन सकेका छ्रैनन् । आज भन्दा सात वर्षअघि साउन १७ गते माथिबाट पहाड खस्दा जुरेको सिङ्गोबस्ती पुरियो भने १४५ को ज्यान गयो । सयौँ विस्थापित भए । जुरे पहिरो पीडितले अहिलेसम्म पनि न्याय पाएका छैनन् ।

पहिरापीडितका लागि देश विदेशबाट दाताले दिएको रु दुई करोड २४ लाख राहत रकम सात वर्षसम्म सरकारी खातामा रोक्का भएर बस्यो । पहिरापीडितले राहत रकमका लागि पटकपटक जिल्ला प्रशासन कार्यालय र गृह मन्त्रालयसम्म पनि धाए । सात वर्षसम्म पनि जसका नाममा पैसा सङ्कलन भयो उनीहरुले नै पाएनन् । नत उनीहरुका लागि पुनःबासको योजनाले नै मूर्तरुप लिनसक्यो ।

सात वर्ष बित्दासमेत आफुहरुको समस्या समाधानका लागि सरकारी तवरबाट केही प्रयास नभएकाले जुरे पहिरापीडित बलेफीका रामबहादुर तामाङले आक्रोश पोख्नुभयो । पीडितको राहत रकम वितरणका लागि गृह मन्त्रालयदेखि जिल्लाका समितिले समेत अध्ययन समिति गठन ग¥यो ।

तत्कालीन जिल्ला दैविप्रकोप व्यवस्थापन समितिका प्रतिनीधिसमेत रहेका गैह्रसरकारी संस्थाका अध्यक्ष सोम सापकोटा, पत्रकार महासङ्घका अध्यक्ष युवराज पुरी र नापी कार्यालय प्रमुख शरद मैनालीको अध्ययन समितिले राहत वितरण गर्न प्रतिवेदन पेश गरिएको समितिका सदस्य सापकोटाले बताउनुभयो ।

त्यसपछि गृह मन्त्रालयको सहसचिवस्तरीय टोलीले समेत स्थलगत अध्ययन गरेको बलेफी– ८ का वडाध्यक्ष चरीबहादुर तामाङले सुनाउनुभयो । निर्वाचित प्रतिनिधिले राहत उपलब्ध गराउन प्रयत्न पनि गरे तर सार्थक हुन सकेन । “हामीले पीडितको नाममा रहेको राहत वितरण गर्न जिल्ला प्रशासनलाई आग्रह ग¥यांै, दबाब दियौँं, ज्ञापनपत्र बुझायौँ, तर पनि पीडितको सहयोग वितरण भएको छैन”, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले भन्नुभयो ।

विसं २०७१ साउन १७ गते बिहान ३ः०० बजे बलेफी गाउँपालिका, बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाको सिमानामा ठूलो पहिरो गएको हो । तीनै वटा स्थानीय तहमा ठूलो मानवीय र भैतिक क्षति भयो । अरनिको राजमार्ग पूर्ण रुपमा लामो समय बन्द रह्यो ।

भोटेकोशी र सुनकोशी नदीको सङ्गमस्थलबाट लगभग चार किलोमिटर दूरीमा पर्ने जुरेमा पहिराले १८ घण्टा नदी थुनिँदा जुरे आसपास आक्रान्त भएको थियो । सुनकोशी नदी तटिय क्षेत्रका लामोसाँघु, खाडीचौर, बलेफी, सुकुटेदेखि काभ्रेपलाञ्चोक र सिन्धुलीसम्मका नागरिक लामो समयसम्म त्रासमा रहे । बाह्रबिसे बजारसम्म थुनिएको नदीले डुबाउने सम्भावना बढेपछि बजार र बस्ती पूरै खाली गरिएको थियो । सानीमा हाइड्रो पावर र सुनकोशी हाइड्रो पावरको ड्यामसहित पावर हाउससम्म क्षति पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस