तराईको दलित परिवारका दाजुबहिनीले डाक्टर बन्न एकैपटक निकाले एमबीबीएस छात्रवृत्तिमा नाम

काठमाडौ । तराईको दलित परिवारका दाजु र बहिनीले एकै शैक्षिक सत्रमा चिकित्सा शास्त्र अध्ययन गर्नका लागि सरकारी पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् ।मेडिकल साइन्सअन्तर्गत एमबीबीएस अध्ययन गर्नका लागि आइओएमले लिएको प्रवेश परीक्षामा दाजुबहिनीले नै नाम निकालेका हुन् ।

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ६ गोरिगम्मा गाउँका जीतेन्द्र पासवानका छोरा र छोरीले नाम निकाल्न सफल भएका छन् ।जीतेन्द्रका छोरा अभयकुमार र छोरी कृतिकाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् ।

दाइ अभयले दोस्रोपटकको प्रयत्नमा नाम निकालेको भएपनि बहिनी कृतिकाले त पहिलोपटको परीक्षामै नाम निकाल्न सफल भएकी छन्।

अभयले १४५ स्कोर ल्याएर मधेशी दलित कोटातर्फको आरक्षण समूहमा पहिलो स्थान ल्याउन सफल भएका छन् भने उनको बहिनी कृतिकाले १२२ स्कोर ल्याएर मधेशी दलित महिलातर्फ चौथो स्थान र समग्र दलित कोटातर्फ सातौँ स्थानमा नाम निकाल्न सफल भएकी छन् ।

दुवै दाजुबहिनीले महोत्तरीको मनरा सिसवा गाउँपालिकाको सरकारी स्कूल सहस्राम माविबाट एसईई उत्तीर्ण गरेका हुन् ।अभयले २०७२ सालमा एसईई ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण गरेका थिए भने बहिनी कृतिकाले २०७४ सालमा सोही विद्यालयबाट ‘ए’ ग्रेड ल्याएर एसईई उत्तीर्ण गरेकी थिइन् ।

अभयले त्यसपछि काठमाडौंको गोल्डेन गेट कलेजबाट टेन प्लस टु २०७५ सालमा उत्तीर्ण गरेका थिए । उनले प्लस टुमा ‘बी’ ग्रेड ल्याएका थिए। त्यसैगरी कृतिका पनि २०७७ मा सोही कलेजबाट ‘ए’ ग्रेड ल्याएर प्लस टू उत्तीर्ण गरेकी थिइन् ।

अभयले पहिलोपटक जाँच दिँदा पनि दलित कोटामा नाम निस्किएको थियो तर त्यति बेला बिन समुदायलाई पनि दलित कोटामा राखिएको हुनाले उनको नाम पर्न नसकेको अभयका बुवा जीतेन्द्र पासवान बताउँछन् । तर अहिले बिन जातिलाई दलित समुदायबाट हटाइएको उनले बताए।

‘अहिले जसरी बिन जातिलाई दलित समुदायको कोटाबाट हटाइएको छ त्यस आधारमा गत वर्ष नै मेरो छोरा अभयले एमबीबीएस पढ्न पाउँथ्यो,’ जीतेन्द्रले भने, ‘खैर, एक वर्ष थप मेहनत गरेर यो पटक ब्याजसहित छोराको साथमा छोरीले पनि नाम निकालेर हाम्रो सपना साकार पारेका छन् ।’

‘दिनरात पढेर नाम निकाल्यौं’

अभय र कृतिकाले दिनरात नभनी पढेर सरकारी छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताएका छन् ।अभयले गत वर्ष एक इन्स्टिच्युटमा पढेर परीक्षाको तयारी गरेका थिए भने कृतिकाले घरमै अध्ययन गरेर नाम निकाल्न सफल भएकी हुन् ।

‘दाइले यसअघि कोचिङमा पढ्नुभएको ज्ञान र उहाँको मार्गदर्शन अनुसार हामी दुवै जनाले एक आपसमा शेयर गरेर तयारी गरेका थियौं,’ कृतिकाले लोकान्तरसँग भनिन्, ‘मैले नबुझेको कुरा दाइलाई सोध्थें । उहाँले नै मलाई सबै कुरा बताइदिनुहुन्थ्यो।’

अभयले भने कोचिङको ज्ञानबाहेक भारतीय लेखकका थुप्रै पुस्तक पढ्नुका साथै एमबीबीएस तयारीका सामग्रीहरू पढेको बताए ।

‘म प्रायजसो रातमा पढ्ने गर्थें भने मेरो बहिनी बिहानदेखि दिनभर पढ्ने गर्थिन्,’ अभयले भने, ‘कुल मिलाएर हामी दुवैजना दाजुबहिनीले प्रत्येक दिन १६ देखि १८ घण्टा न्युनतम पढ्ने गरेका थियौं ।’

छोराछोरीले नाम निकाल्न सक्नुमा आमाको योगदान

जीतेन्द्र पासवान महोत्तरीमा गैरसरकारी संस्था चलाउनुका साथै राजनीतिमा पनि सक्रिय थिए ।नेकपा एमालेको महोत्तरी जिल्ला कमिटी सदस्य समेत रहेका उनले पछिल्लोपटक महोत्तरी गाउँपालिकाको अध्यक्ष पदमा समेत उम्मेदवारी दिएका थिए । तर उनी पराजित भए ।

अहिले उनलाई नेपाल सरकारले राजनीतिक नियुक्ति समेत दिएको छ । समाज कल्याण परिषदसँग आबद्ध रहेको सामाजिक उद्यमशीलता विकास कोषको बोर्ड मेम्बर छन्, उनी ।

प्रतिक्रिया दिनुहोस