के बालबालिकाले मास्क लगाउनुपर्छ? ५ वर्ष मुनिकालाई किन नलगाउन भनिन्छ?

बालबालिकाले मास्क लगाउनु पर्छ कि पर्दैन भन्ने कुरा धेरै कुराहरूमा निर्भर हुन्छ। उनीहरूको उमेर, सुरक्षित रूपमा मास्क प्रयोग गर्ने क्षमता, स्थानीय निकायहरुको निर्देशहरू र उनीहरू बिरामी भएका कोहीसँगको भौतिक सम्पर्कमा छन् की छैनन् भन्ने कुराहरु प्रमुख हुन्छन्।

विश्व स्वास्थ्य संगठन र युनिसेफको यस्तो सल्लाह यस्तो छ

५ वर्ष र सोभन्दा कम उमेरका बालबालिका
सामान्यतया, ५ वर्ष र सोभन्दा कम उमेरका बालबालिकाले मास्क लगाउनु पर्दैन। यो सल्लाह साना बालबालिकाको सुरक्षा र समग्र हितमा आधारित छ।

किन यसो भनियो? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार ५ वर्षमुनिका बालबालिकाका लागि अनिवार्य मास्क व्यवहारिक नहुने भएकाले मास्क लगाउनुभन्दा भिडभाडबाट जोगाउनु उत्तम हुन्छ।

५ वर्ष मुनिका बालबालिकालाई मास्क लगाउदा र्‍याल तथा सिगान निस्कने, नाक बन्द हुनेसक्ने र बालबालिकाले मुखमा लगाएको मास्क मुखभित्र हाल्नसक्ने भएकाले उनीहरुलाई मास्क लगाइदिनु भन्दा भिडभाडबाट जोगाउन उपयुक्त हुन्छ।

५ वर्ष मुनिका बालबालिका पनि कोरोना संक्रमणको जोखिममा हुने भएकाले उनीहरुलाई भिडभाडबाट जोगाउनु पर्ने डा अधिकारीले बताए। उनले अस्पताल वा भिडभाडमा जानै पर्ने अवस्था भएको अवस्थामा यी उमेरका बालबालिकालाई सामाजिक दुरी कायम गर्ने वा मास्क लगाइदिएर अभिभावकले विशेष हेरचाह गर्नुपर्ने जानकारी दिए।

६ देखि ११ वर्षका बालबालिका
६ देखि ११ वर्षका बालबालिकाले निम्न अवस्थाहरु भएमा मास्क लगाउनु पर्छः

–कोभिड १९ तपाईँको क्षेत्रमा व्यापक रुपमा फैलिएको छ भने
–बालबालिकाले सुरक्षित र उपयुक्त रुपमा मास्क प्रयोग गर्न सक्छन् भने
–मास्कमा पहुँच छ र तिनीहरूलाई धुन वा प्रतिस्थापन गर्न सकिन्छ भने
–बालबालिकाले मास्क लगाइरहेको वयस्कले सुपरिवेक्षण गर्न सक्छन् भने
–बालबालिकाले हालसालै गम्भीर बिरामी हुनसक्ने उच्च जोखिममा भएका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गरेका छन् भने, उदाहरणको लागि, वृद्ध र स्वास्थ्य समस्या भएका मानिसहरु।

बालबालिकाको सिकाई वा मनोसामाजिक विकासमा मास्क लगाउनाले कुनै असर गर्दैन भने (अभिभावक, शिक्षक वा स्वास्थ्यकर्मीसँग परामर्श गर्न सकिने)

१२ वर्ष र माथिका बालबालिका
१२ वर्ष वा माथिका बालबालिकाले वयस्कहरूले जसरी नै मास्क लगाउनु पर्दछ।

विभिन्न प्रकारको अपाङ्गता भएका बालबालिकाहरुको हकमा उनीहरुको सक्षमताको मुल्याङ्कन गरेर र उनीहरुको हित सुनिश्चित गरेर मात्र मास्क लगाउने वा नलगाउने भन्ने निर्णय गर्नु पर्छ।

बालबालिकाले दौडँदा, उफ्रँदा वा अरु खेलकुदमा सहभागी हुँदा भने मास्क लगाउनु पर्दैन। यस्तो अवस्थामा उनीहरुलाई कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्न लगाउनु पर्छ।

प्रतिक्रिया दिनुहोस