गाउँ पसेर मान्छेलाई घाइते बनाएको भालुलाई गोली हानेर मारियो

कर्णाली – सदरमुकाम जुम्ला खलङ्गा बजारभित्र पसेर तीन जना स्थानीयमाथि आक्रमण गरी घाइते बनाउने भालुलाई गोली हानेर मारिएको छ । चन्दननाथ नगरपालिका–४ कार्कीवाडा जुम्लाका २९ वर्षीय हिमबहादुर रोकाया र उहाँको श्रीमती २६ वर्षीया निर्मला थापा रोकायालाई आज बिहान ५ः३० बजेतिर भालुले आक्रमण गरी घाइते बनाएको थियो । श्रीमान् हिमबहादुरलाई नुहाइरहेका अवस्थामा भालुले आक्रमण गरेको थाहा पाएर चिच्याउने बित्तिकै आफूलाई चिथोरेको पीडित निर्मलाले बताउनुभयो ।

चन्दनाथ नगरपालिका– ६ सिंगाचौर गाउँ जुम्लाका हिरा सार्कीलाई पनि भालुले घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।

टाउको र अनुहारमा आक्रमण गरी घाइते बनाएका तीनैजनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताउनुभयो । भालुले स्थानीयमाथि आक्रमण गरी घाइते बनाएको खबर बिहान पाएलगत्तै प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंसहित सुरक्षा निकायको टोली घाइतेको उद्धार र भालुको खोजीकार्यमा लागेको थियो । भालु बजारमा छिरेर स्थानीयमाथि आक्रमण गरेपछि भालु आतङ्कले आज जुम्ला सदरमुकाम दिनभर तनावग्रस्त बनेको थियो ।

चन्दननाथ नगरपालिकाको सिंगाचौरको गोठमा बिहान ९ बजे पसेको भालु सुरक्षित नियन्त्रणका लागि प्रजिअ प्रसाईंसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले तीन घण्टा गाउँ नै सुरक्षा दिएर भालुलाई नियन्त्रण गरेको थियो । भालुलाई सुरक्षित नियन्त्रण गर्न डिभजन वन कार्यालय जुम्लाका कर्मचारी पनि सो स्थानमा पुगेका थियो ।

बजारमा मान्छे घाइते बनाउँदै हिँडेको भालुलाई जीवितै नियन्त्रणमा लिन खोज्दा उल्टै सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेपछि स्थानीय प्रशासनको निर्देशनमा उक्त भालुलाई गोली हानेर मारिएको प्रहरी नायब उपरीक्षक थापाले जनाउनुभयो । मारिएको भालुको पशुविज्ञबाट शव परीक्षण गरेर अन्त्येष्टि गरिने डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश खत्रीले जानकारी दिनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस