खुर्सानी सेवनका फाइदा धेरै, बेफाइदा कम : धेरै खाँदा देखिन्छन् यस्ता गम्भीर समस्या

काठमाडौं । खाना, कोही स्वास्थ्यलाई ध्यानमा राखि सादा खान मन पराउँछन् भने कोही मानिसहरु स्वास्थ्यको पर्वाह नगरी अस्वस्थकर खाना खाइरहेका हुन्छन् । कोही तीतो खानेकुरा रुचाउँछन् भने कोही गुलियो । कसैलाई अमिलो मन पर्छ त कसैलाई पिरो । हामीले खाने पिरोले स्वास्थ्यमा कतिको असर गर्छ भन्ने जानकारीबाट भने धेरै मानिसहरु बञ्चित छन् । आउनुस् यसका फाइदा\बेफाइदाबारे जानकारी लिऔँ :

खुर्सानी सेवन गर्नुका फाइदाहरू
खुर्सानीमा पाइने तत्त्व क्याप्साइसिनका कारण पिरो हुने गर्छ । खुर्सानीमा पाइने एन्टिअक्सिडेन्ट् लगायत विभिन्न तत्त्वहरूका साथै पिरो बनाउने क्याप्साइसिन तत्त्वले स्वास्थ्यमा धेरै फाइदा पुर्याउँछ । खुर्सानीको सेवनले मेटाबोलिज्मको दर (कोषभित्र हुने पाचन) बढाइदिन्छ र बिस्तारै बोसो घटाउने र तौल कम गराउने काम गर्छ । श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाई अक्सिजन लिने प्रक्रिया बढाउँछ, भोक लगाउने प्रक्रिया कम गर्छ र शरीरको तापक्रम बढाउनुका साथै क्यालोरी जलाउने काम गर्छ । यसले सुजन वा इन्फ्लामेसन घटाउँछ । कोषमा पाइने फ्री रेडिकल्स् कम गराउँछ र क्यान्सर, अटोइम्युनमा आएको खराबी, स्ट्रोक, मुटुका रोग कम गराई जीवन आयु बढाइदिन्छ ।

दुखाइ कम गर्नका लागि पनि क्याप्साइसिन प्रयोगमा ल्याउन सकिन्छ । यसले दुखाइ थाहा दिने ग्राहक कोषलाई उत्तेजित बनाइदिन्छ र बिस्तारै दुखाइप्रति कम चेतना मिल्छ । यसलाई दुखाइ कम गर्न लगाउने मलमको रूपमा प्रयोग गर्न पनि सकिन्छ । यसका साथै जोर्नीको समस्या, बाथ, हाडका समस्या, मधुमेह रोगीलाई हुने नशाका समस्या, स्नायुका खराबी आदिमा समेत यो मलम छालामा प्रयोग गर्न सकिन्छ । यसमा पाइने पोटासियम र फोलेटले मुटुका रोगहरूको जोखिम घटाउनुका साथै स्वस्थकर कोलेस्ट्रोललाई नियमित गराउने, रक्तनलीलाई आराम र लचक बनाई रक्तचाप कम गर्नसमेत मद्दत गर्छ ।

पाचनप्रणालीको सङ्क्रमण हुन नदिने, पाचन रसहरू बढी उत्पादन गराउने, आमाशयको स्नायुलाई उत्तेजित बनाई सक्रिय बनाउने, अम्लपित्त, पेप्टिक अल्सर हुनबाट बचाउने, एच। पाइलोरी (अल्सर बनाउने किटाणु) लगायत अन्य किटाणुलाई पनि मारी अल्सर निको बनाउने र पाचनप्रणालीको समग्र स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ । शरीरको अटोइम्युन रोगका कारण उत्पन्न हुने सोरियासिस् जस्तो निको नहुने खालको छालाको समस्यामा क्याप्साइसिन मलम लगाउनाले केही सुधार हुन्छ । क्यान्सर गराउने कोषको उत्पादनलाई कम गराई प्रोस्टेट, प्याङ्क्रियाज र छालाको क्यान्सरको जोखिम कम गर्ने काम पनि खुर्सानीले गर्छ ।

यो मसलाको रूपमा तरकारीमा राखेर, सलाद बनाएर आफूले खाने नियमित खानामा सजिलै समावेश गरेर खान सकिन्छ । खानालाई स्वादिलो बनाउने र जिब्रो तथा पाचन प्रणालीलाई सक्रिय बनाउँछ । खुर्सानीको सेवनले यसमा पाइने बिटा क्यारोटिन र प्रो भिटामिन ए को असरले छालामा हुने दाद, डण्डीफोर, छाला चाउरी पर्ने समस्या, काला दागहरू आदि निको बनाउने, रुघाखोकी निको बनाउने, आँखाको स्वास्थ्य राम्रो बनाउने, पर्याप्त रक्तसञ्चालन गर्ने तथा भिटामिन सीले गर्दा रौँ र छाला चमक तथा स्वस्थ बनाउने, अल्जाइमर्स र डिमेन्सिया जस्ता रोगको सम्भावना कम गर्ने र मस्तिष्कको कार्यक्षमता बढाउने, यसमा पाइने एन्टिब्याक्टेरियल गुणका कारण पिनासलाई राम्रो बनाउने, माइग्रेन जस्तो टाउको दुखाइ कम गराउने र जीवनआयु बढाउने काम गर्छ ।

खाना स्वादिलो बनाउने, तातो अनुभव गराउने र इन्सुलिनलाई नियमित बनाई दोस्रो प्रकारको मधुमेह रोगको जोखिम समेत घटाउँछ । खुर्सानीमा पाइने कपर, फोलिक एसिड र आईरनले राता रक्तकणको वृद्धि र विकास गराइ रक्तअल्पता हुन नदिने, गर्भवती र गर्भको बच्चाको स्वास्थ्यमा समेत फाइदा पुर्याउने काम गर्छ । खुर्सानीमा पाइने क्याप्साइसिन तत्त्वले इन्डोर्फिन हर्मोन उत्पादन गराई मुड ताजा बनाइदिने, सकारात्मक मुड बनाइदिने र डिप्रेसन जस्तो रोग लाग्नबाट बचाउँछ ।

असरहरु
खुर्सानीको सेवन धेरैलाई राम्रो र फाइदाजनक भए पनि कसैका लागि नराम्रो पनि हुनसक्छ । खुर्सानी खाने बानी परेकालाई यसको पिरोको असर कम देखिन्छ तर खुर्सानी खाने बानी नहुनेहरूलाई यसको सेवनका केही असरहरू पनि हुनसक्छ । खुर्सानीको सेवनले पसिना आउने, जिब्रोमा पोल्ने भए पनि यसले त्यति ठूलो असर त गर्दैन तर सामान्यतया यसको बढी मात्रामा सेवन गरेमा अधिकांशमा देखापर्ने केही असर यसप्रकार छन् ।

खुर्सानीको सेवन गर्दा कसैलाई मुखदेखि मलद्वारसम्म पूरा पाचन प्रणालीमा जलन हुनसक्छ । अम्लपित्तका केही रोगीहरूमा यस्तो लक्षण अझ बढी हुनसक्छ र कसैलाई घातक पनि हुनसक्छ । यदि पाचन प्रणालीले यस्तो जलन बिस्तारै सहन गर्न सक्यो भने अस्वाभाविकप्रति असर र अनुभवहरू कम हुँदै जान्छन् । खुर्सानी चलाउँदा, छुँदा र नाक मुखमा लैजाँदा यसले आँखा, महत्त्वपूर्ण अङ्ग तथा छालासमेत पोल्न सक्छ । यसमा पाइने क्याप्साइसिन तत्त्वका फाइदाहरू बढी भए पनि उत्तिकै मात्रामा दुःखपूर्ण पनि छ ।

एकै पटकमा अलि धेरै खुर्सानी खाएमा यसमा पाइने क्याप्साइसिनको मात्रा बढी हुन सक्छ र शरीरको तापक्रम बढ्न सक्छ । यस्तो बेलामा रक्तचाप उच्च हुन सक्छ । खाने समयमा यसरी तापक्रम बढेर गर्मी महसुस् भए पनि वास्तवमा यसले शरीरमा तापक्रम नियन्त्रण गर्ने र चिसोपन बनाउँछ । तैपनि खुर्सानी सेवनका कारण देखिने यी समस्या हटाउन सुरुमा थोरै मात्राबाट खुर्सानीको सेवन सुरु गरी बिस्तारै आफूले चाहे जति मात्रा मिलाउन सकिन्छ । क्याप्साइसिनको मात्रा २–६ मिग्रा प्रतिदिन लिनु स्वास्थ्यका लागि राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस