सेलिब्रेटीको साउन : क–कसले बसे व्रत ?

काठमाडौं । साउनमा भगवान शिवको व्रत बस्ने प्रचलन छ । यो महिनामा शिवको पूजा गरे हरेक मनोकामना पुरा हुने जनविश्वास रहिआएको छ । यो दिन विवाहिता महिलाले पतिको दिर्घायुका लागि व्रत बस्छन् भने अविवाहित महिलाहरु असल श्रीमान् पाउँ भनि व्रत बस्ने गर्दछन् । पार्वतीले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको किम्वदन्ती सुनेका हुनाले महिलाहरूले यसलाई बढी महत्त्व दिन्छन् ।

साउनमा कलाकारहरु पनि व्रत लिने गर्छन् । कसैले व्रत बस्छन् भने व्रत बस्न नसक्नेले माछामासु बारेर शिवको भक्ति गर्ने गर्छन् महिनाभरी । मोडल अञ्जु निरौलाले पनि साउनको सोमबार नियमित व्रत बस्दै आएकी छिन् । उनी साउनभरी माछामासु खादिनन् । व्रत लिँदा आफ्नो शरीर, श्रीमान् र परिवारको राम्रो हुने उनको विश्वास छ । उनको श्रीमानले पनि सोमबारको व्रत बस्ने गरेका छन् । साउनमा मेहन्दी, हरियो, पहेँलो चुरा र पहिरन अञ्जुलाई निकै मन पर्छ ।

अभिनेत्री वर्षा शिवाकोटीले भने व्रत बस्ने गरेकी छैनन् । साउनमा माछामासु बारेर पूजापाठ भने गरेको उनले बताएकी छिन् । यस्तै अभिनेत्री ऋचा शर्माले पनि साउनको व्रत अहिलेसम्म नबसेको बताइन् । उनी अहिले गर्भवती छिन् । सेप्टेम्बरमा बच्चा जन्मिने भएपछि उनी ‘कमेडि च्याम्पियन सिजन २’ समेत छोड्दैछिन् । चोखो भने खाने गरेको उनको भनाइ छ ।

यो वर्ष अभिनेत्री करिष्मा मानन्धरले पनि व्रत बसिनन्, पूजाआजा मात्रै गरिन् । अभिनेत्री रेखा थापाले भने हरेक वर्ष साउनको सोमबार व्रत बस्ने गरेकी छिन् । शिवको महिना भएकाले उनलाई साउन विशेष लाग्छ । यो साउनमा पनि हरियो, पहेँलो पहिरन, चुरा र मेहन्दी लगायतका शृङ्गार गरेर चाखोनितो गरेर, मन्दिर गइन् । कलाकार दीपश्री निरौलाले पनि साउनमा व्रत बस्ने गरेको बताइन् । हरेक वर्षको साउन उनी विशेष रूपमा सेलिब्रेसन गर्छिन् ।

अभिनेत्री सञ्चिता लुइँटेलले पनि यो साउन विशेष रुपमा मनाइन् । उनले सोमबार मात्रै नभएर साउनभरी नै व्रत बसिन् । शिव भगवानप्रति उनको पहिलेदेखि नै आस्था र विश्वास थियो । अर्कि अभिनेत्री अनु शाह पनि विगत दुई वर्षदेखि साउनको व्रत बस्दै आएकी छिन् । अभिनेत्री वर्षा राउतले भने व्रत बस्ने गरेकी छैनन्, साउनको शृङ्गार भने गरिन् ।

प्रतिक्रिया दिनुहोस