अफगानिस्तान घटनामा रिया चक्रवर्तीको यस्तो प्रतिक्रिया

नयाँ दिल्ली । भारतीय अभिनेत्री रिया चक्रवर्ती अफगानिस्तानको घटनाले भावुक भएकी छिन् । त्यहाँका महिलालाई लिएर उनले चिन्ता जाहेर गरेकी छिन् । रियाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट स्टोरी सेयर गर्दै लेखेकी छिन् – ‘जब पुरै दुनियाँमा महिला समान अधिकारका लागि लडिरहेका छन्, यस्तो समयमा अफगानिस्तानमा महिलालाई बेचिएको छ । त्यहाँ महिला सामान बनेका छन् । अफगानिस्तानमा महिला र अल्पसंख्यकको स्थिति देख्दा मुटु दुख्छ । ग्लोबल लिडर्ससँग यस्तो गलत कार्यविरुद्ध उभिन अपिल गर्न चाहन्छु । महिला पनि मानिस हुन् ।’

अफगानिस्तान यतिबेला पूर्णरुपमा तालिवानको नियन्त्रणमा छ । तालिबान विद्रोहीका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटर मार्फत राजधानी काबुलस्थित जिल्ला प्रहरी कार्यालय पनि नियन्त्रणमा लिइसकिएको बताएका छन् । तालिबान लडाकूहरुले १० दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू नियन्त्रणमा लिएका छन् । ज्यान जोगाउनका लागि त्यहाँका राष्ट्रपति अशरफ गानी देश छाडेर भागेका छन् ।

रिपोर्टअनुसार आइतबार उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि काबुल छाडेका छन् । विद्रोही तालिबान लडाकूहरु देशको केन्द्रीय राजधानी काबुल प्रवेश गरेपछि उनले देश छाेडेकाे अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्ने बारेमा छलफल भइरहेका बेला उनले देश छाेडेका :स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार तालिबान लडाकूहरुको तर्फबाट अली अहमद जलाली देशको अन्तरिम राष्ट्रपति बन्नेछन् । उनीहरुका बारेमा विस्तृतमा केही बताइएको छैन । घानी सरकारका मन्त्रीहरुले भने आम नागरिकलाई धैर्यधारण गर्न र नडराउन आग्रह गरेका छन् । उनीहरुले नागरिकको सुरक्षा हुने आश्वासन दिएका छन् । आइतबार दिउँसैदेखि तालिबानी लडाकूहरु राजधानी काबुल प्रवेश गरेका थिए । आफ्नो सरकारले तालिबान विद्रोहीहरुलाई रोक्न नसकेपछि घानी राजीनामा दिनुपर्ने अवस्थामा पुगेका थिए । तर आइतबार दिउँसोसम्म पनि राष्ट्रपतिको कार्यालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो ।

प्रतिक्रिया दिनुहोस