हामी सँगै छौं तर बिहे भएको छैन- अनु शाह

अभिनेत्री अनु शाह अचेल अभिनेता सविन श्रेष्ठसँगको प्रेम सम्बन्धका कारण चर्चामा छिन् । केही समय लुकिछिपी माया साटेको यो जोडीले पछिल्लो समय खुलेरै प्रेम व्यक्त गरिरहेको छ ।‘आधी बाटो’ र ‘लक्ष्य’ फिल्ममा एकसाथ काम गरेका उनीहरु एकअर्काको परिवारसँग पनि घुलमिल भइसकेका छन् ।

२०७४ सालमा यो जोडीले काठमाडौं जिल्ला अदालतमा विवाह गरेको खबर सार्वजनिक भएको थियो । तर, उनीहरुले यसलाई गतल रहेको बताए । निषेधाज्ञाको समयमा अनुले आफ्नो सिउँदोमा सिन्दूर लगाएर टिकटक बनाएपछि उनले गुपचुप रुपमा सविनसँँग विवाह गरेको फेरि चर्चा चल्यो । तर, उनले आफूहरु सँगै भए पनि बिहे नभएको स्पष्ट पारेकी छन् ।

अनु भन्छिन्, ‘हामी केही वर्षदेखि सँगै नै छौं तर विवाह भएको छैन । हाम्रो इन्गेजमेन्ट पनि भएको छैन । हामी कहिल्यै नछुटिउँ भनेर उहाँले ‘प्रमिस रिङ’ लगाइदिनुभएको छ ।’ आफूहरु तत्काल विवाहको योजनामा नभएको पनि उनले सुनाइन् । आफ्नो गर्धनमा सविनको नामको ट्याटु समेत खोपाएको बताएकी छन् ।

सविनसँगको पहिलो भेटबारे उनी भन्छिन्, ‘मैले उहाँलाई २०६८ सालमा चिनेको हो । एक होलीको फोटोसुटको क्रममा हामीबीच चिनजान भएको थियो । हामी सँगै भएको चाहिँ चार वर्ष जति भयो ।’ उनी सविनको सहयोगी भावना आफूलाई मनपर्ने बताउँछिन् ।

उनले आफूले कहिल्यै नम्बर वान हिरोइन बन्छु भनेर नसोचेको पनि बताएकी छन् । उनी भन्छिन्, ‘मैले जीवनमा कहिल्यै नम्बर वान हिरोइन बन्छु भनेर सोचिनँ । राम्रो कलाकार बन्न हिँडेको हुँ, त्यसका लागि मिहिनेत गरिरहेको छु ।’

प्रतिक्रिया दिनुहोस