लामखुट्टेको टोकाइबाट कोरोना सर्छ ?

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण लामखुट्टेको टोकाइबाट नसर्ने स्पष्ट पारेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो । मन्त्रालयका अनुसार लामखुट्टेको टोकाइले हालसम्म कोभिड १९ भाइरस सर्न सक्ने कुनैपनि प्रमाण भेटिएको छैन ।

‘कोभिड १९ श्वासप्रश्वास सम्बन्धी भाइरस हो । यो भाइरस संक्रमित व्यक्तिले खोक्दा वा हाँछ्युँ गर्दा निस्कने थुक वा सिँगानका स–साना छिटाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ’, मन्त्रालयको भनाइ छ । कोभिड संक्रमणबाट बच्न नाक, मुख, चिउँडो छोपिने गरी मास्क लगाउनुपर्छ । कुनै सतह छोएपछि सेनिटाइजरले हात निसंक्रमण गर्ने वा साबुनपानीले धुने गर्नुपर्छ । साथै एकअर्कासँग भौतिक दुरी कायम गर्नुपर्छ ।

पछिल्लो समय कोरोना संक्रमण बढिरहेको अवस्था छ । सोमबार मात्रै देशभर ३ हजार ४५१ कोरोना संक्रमित थपिएका थिए भने ३५ जनाको मृत्यु भएको पुष्टि भएकाे थियाे । सक्रिय संक्रमित संख्या ३९ हजार ३७१ रहेको छ, जसमध्ये ३६ हजार ३६ जना होम आइसोलेसनमा छन् भने ३ हजार ३३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मंगलबारको अपडेट भने आउन बाँकी छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस