ऐना हेरेर अनुहार बेस्सरी चिथोर्थेँ : पूजा शर्मा

काठमाडौं । २०४९ साल वैशाख १८ गते सिन्धुपाल्चोकमा जन्मिएकी पूजाको बाल्यकाल दुःखमा बित्यो । छोराको चाहना राखेका उनका बुवाले उनी जन्मिएपछि उनकी आमालाई एक्लो बनाए । पुजा र उनकी आमा दुर्गाले परिवारबाट कहिल्यै माया पाएनन् । श्रीमानबाट माया पाउन नसकेका कारण उनले छोरी पुजालाई भने राम्रो भविष्य दिने सोच बनाइन् । त्यसैले उनी घर परिवार छोडेर छोरीलाई लिएर काठमाडौं आइन्, संघर्ष गरेर पूजालाई राम्रो विद्यालय भर्ना गरिदिइन् । पूजा भन्छिन्– ‘छोरी जन्मिने बित्तिकै घरबाट राम्रो प्रतिक्रिया आएन । म जन्मिने बित्तिकै मेरो आमाको लागि राम्रो भइनँ । सानोमा आमाले मलाई एकदमै दुःख गरेर हुर्काउनु भएको थियो ।’

बाबुले एक्लाएको ईख र अभिनय मोहले कलाक्षेत्रतर्फ आकर्षित थिइन् पूजा । उनको कला मोह पुरा गर्नमा भूमिका खेले सुगम पोखरेलले । पुजा सानैदेखि सुगम पोखरेलको फ्यान थिइन् । सुगमलाई भेटेपछि अभिनयतर्फ उनको पहिलो पाइला मोडियो । अभिनयमा अब्बल नभएका कारण उनले धेरै संघर्ष गर्नुपर्यो । नराम्रा प्रतिक्रिया, घोचपेच झेल्नुपर्यो ।

उनी अभिनित मधुमास, अझै पनि, थ्रि लभर्स, चङ्खे शङ्खे पङ्खे लगायत सुरूवाती चलचित्र फ्लप भए । सबै फिल्म फ्लप भएपछि उनलाई लाग्यो – ‘मेरो त राम्रो कहिले पनि नहुने रहेछ ।’ यतिसम्म कि उनी ऐना हेरेर आफ्नो अनुहार बेस्सरी चिथोर्थिन्, आफैँसँग रिस उठेर । ‘यो क्षेत्रमा मलाई सजिलो थिएन । सुरुमा ए यस्तो पनि हिरोइन हुन्छ, यसले के गर्न सक्छ र ? भन्ने मान्छेहरु पनि धेरै थिए । यो क्षेत्रको प्रायः कसैले पनि राम्रो व्यवहार गर्नु हुँदैन थियो मलाई,’ एक युट्युब कार्यक्रममा विगत सम्झिँदै पूजाले भनेकी छिन्– ‘अनि म घरमा गएर मसँग के कमि छ भनेर ऐना हेरेर रुने गर्थेँ । अरु यति राम्री हुन्छन्, म राम्री छैन भनेर अनुहार बेस्सरी चिथोर्थेँ रिसले ।’

संघर्षका बिच सुदर्शनले फेरि अर्को अवसर दिए । लगातार ३ वटा फिल्म फ्लप भएपछि हरेस खाएकी पुजालाई सुदर्शनले आफ्नो चलचित्र ‘प्रेमगीत’ मा अफर गरे, हिरोको रूपमा प्रदीप खड्का थिए । चलचित्र हिट भयो, जताततै पुजा र प्रदीपको चर्चा । चलचित्रले बक्स अफिस पनि ततायो । उक्त चलचित्रपछि पूजाले पछाडि फर्केर हेर्नु परेको छैन । उनी भन्छिन्, ‘रुँदैरुँदै बिताएका रातहरु धेरै छन् । जीवनमा धेरै नै रोएकी छु ।’

पछिल्लो समय अभिनेता आकाश श्रेष्ठसँग टाढिएको भन्दै पूजाबाट फ्यान निराश छन् । चलचित्र क्षेत्रमा उनीहरु प्रेममा रहेको चर्चा चलेको थियो, फ्यान पनि उनीहरु एक भएको हेर्न चाहन्थे । तर पूजाका फ्यानको यो चाहना अधुरै रहने भएको छ । पछिल्लो समय आकाश–पूजाको सम्बन्धमा फाटो आएको छ । पूजाको नाम अहिले व्यवसायी युद्ध बानियासँग जोडिएको छ ।

नायिका पूजा शर्मा र व्यापारी युद्ध बाँनियाको भेटघाट गत वर्षको फागुनमा भएको हो । पूजाकै दिदीहरुका कारण युद्धसँग उनको भेटघाट भएको हो । हेटौंडाका युद्ध ललितपुरको सातदोबाटोमा बस्दै आएका छन् । पूजाको बिहेको चर्चा चलेसँगै उनका आफन्तले युद्धको प्रस्ताव अगाडि सारेका थिए । जिममा प्रयोग हुने प्रोटिन लगायतका खाद्यान्नको व्यापार गर्दै आएका युद्ध आफू पनि जिम क्रेजी छन् ।

नेपाली चलचित्रको कुनै नायकभन्दा युद्ध कम नभएको प्रतिक्रिया सामाजिक सञ्जालमा प्रशस्त भेट्न सकिन्छ । पूजाले हालै मात्र ललितपुरमा नयाँ घर बनाएकी छन् । नयाँ घरमा चाँडै नै बसोबास शुरु गर्न लागेकी पूजा बिहेको मुडमा छिन् । पूजा र युद्धको मित्रता बलियो रुपमा अगाडि बढेको छ । उनीहरु, एक(अर्कालाई राम्रोसँग बुझेर जीवनलाई नयाँ मोडमा अगाडि बढाउने योजनामा रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस