‘ब्ल्याक फंगसका कारण मर्दैछौँ’ भन्दै कमिश्नरलाई फोन गरेर पति-पत्नीले गरे आत्महत्या

एजेन्सी । कर्नाकटमा ब्ल्याक फंगसको डरका कारण एक दम्पतिले आत्महत्या गरेका छन् । दुवै पति पत्नी कोरोना संक्रमित भएका थिए । आफ्नो सुसाइड नोटमा पतिले आफ्नो पत्नी मधुमेहको बिरामी भएको उल्लेख गरेका छन् । समाचार च्यानलमा मधुमेहका बिरामीलाई पनि ब्ल्याक फंगस लाग्ने र आफ्नो अंग गुमाउने भनिएको उनले लेखेका छन् ।

सुसाइड नोटमा पतिले ब्ल्याक फंगसको मूल्य चुकाउनुपर्ने देखिएपछि आत्महत्या गरेको उल्लेख गरेका छन् । उनीहरु दुवै बैकम्पाद्योको एक अपार्टमेन्टमा बस्थे । रमेश (४०) र सुवर्णा (३५) को रुपमा मृतकको पहिचान गरिएको छ । सुवर्णा मधुमेहबाट पीडित थिइन् । पछिल्लो एक हप्तामा दुवैमा कोभिड १९ को लक्षण देखिएको थियो । आत्महत्याअघि पति-पत्नीले शहरका एक प्रहरी आयुक्त एन शशि कुमारलाई अडियो म्यासेज पठाएका थिए । उक्त अडियो म्यासेजमा दम्पतिले भनेका छन्– ‘ब्ल्याक फंगसलाई लिएर हामी निकै डराएका छौँ । यसकारण हामीले जीवन समाप्त गर्ने निर्णय गरेका छौँ ।’

म्यासेज प्राप्त गर्नासाथै प्रहरी आयुक्तले हतारमा कुनै कदम नउठाउन अनुरोध गरेका थिए । प्रहरी समूहले पनि उक्त दम्पतिको खोजी गरेको थियो । खोजीका क्रममा अपार्टमेन्टमा पुगेको प्रहरीले उनीहरुलाई मृत अवस्थामा फेला पारेको हो । प्रहरी टोली पुग्दा दुवैले आत्महत्या गरेको प्रहरीको भनाइ थियो । सुसाइड नोटमा सुवर्णाले केही स्वास्थ्य समस्याले गर्दा बच्चा जन्माउन नसक्ने भएका कारण आफू मानिसहरुसँग खासै घुलमिल नहुने बताएकी छिन् । डेथ नोटमा लेखिएको छ, ‘मैले र मेरो श्रीमानले आत्महत्या गर्ने तय गरेका छौँ । हामीले यसको लागि एक लाख रुपैयाँ राखेका छौँ । हाम्रो अन्तिम संस्कार गरेर सहयोग गरिदिनु हुन अपिल गर्दछु ।’

उनीहरुले सुसाइड नोटमा आफ्नो घरमा रहेका सामानहरु गरिब दुःखीलाई बाँडिदिन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस