अफगानी महिलाकाे गुहार : ‘हामीलाई भित्र आउन दिनुस्, तालिबान आउँदैछ, हामीलाई मार्छन्’ (भिडियो)

एजेन्सी । तालिबानको कब्जामा रहेको अफगानिस्तानमा महिलाहरु आतंकित छन् । उनीहरुले आफूलाई असुरक्षित महसुस गरिरहेका छन् । यसैबीच त्यहाँको एउटा भिडियो अहिले भाइरल भइरहेको छ, जसमा महिलाहरु ‘हामीलाई बचाउनुस्’ भनेर रुवाबासी गरिरहेका छन् । तालिबानले महिलालाई सुरक्षा दिने भनेपनि उनीहरुले विश्वास गर्न सकिरहेका छैनन् । उनीहरु त्यहाँबाट अर्को देश जान चाहन्छन् ।

काबुल एयरपोर्टमा हजारौँको संख्यामा मानिसहरु फ्ल्याइट कुरिरहेका छन् । भाइरल भएको भिडियोमा महिलाहरु एयरपोर्टमा पस्नका लागि अमेरिकी सैनिकसँग गुहार मागिरहेका छन् । तर सफल भएका छैनन् । काबुलको हामिद अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी र नाटो देशका सेनाहरुले अवरोध गरिरहेका छन् । यी सबै केवल आफ्नो देशका नागरिकहरुलाई मात्र बाहिर निकालिरहेका छन् । यसैबीच अफगानी महिला एयरपोर्टमा आउन दिन गुहार लगाइरहेका छन् । ती महिलाहरु सहयोगका लागि चिच्चाइरहेका छन् । ‘सहयोग गर्नुस् । तालिबानी आइरहेका छन्’, एक महिलाले रुँदै सहयोग मागेको भिडियोमा देख्न सकिन्छ । तर उनीहरुको कोसिस सफल भएन, अमेरिकी सैनिकले ढोका खोलिदिएनन् ।

काबुल एयरपोर्टमा करिब पचास हजारभन्दा बढी अफगानी छन्, जो देश छोडेर भाग्न चाहन्छन् । तालिबानले हत्या गर्ने, अत्याचार गर्ने उनीहरुमाथि डर छ । तर कुनैपनि अफगानीका लागि देश छोड्न मुश्किल छ । अमेरिकी र नाटो देशका सेनाले सबैभन्दा पहिले आफ्ना नागरिक र आफ्नो मिसनमा सहयोग गर्ने मानिसहरुलाई नै सहयोग गरिरहेको छ । सबै सैनिकहरुले एयरपोर्टमा आएका आ–आफ्ना नागरिकहरुलाई मात्रै प्लेन चढाएर पठाएका छन् ।

काबुल एयरपोर्टको अवस्था कस्तो छ, सो भिडियोबाट पनि अनुमान लगाउन सकिन्छ । त्यहाँ भीडलाई नियन्त्रण गर्न सैनिकले फायरिङ्ग समेत गरेका छन्, जसकारण मानिसहरुको भागदौड मच्चिएको छ । करिब ४० जनाको ज्यान गएको स्थानीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

भिडियाे :

प्रतिक्रिया दिनुहोस