बिवाहकाे बाचा गरेका अक्षयले शिल्पालाई यसकारण दिएका थिए ब्रेकअप

एजेन्सी । मोडलिङबाट आफ्नो करिअर सुरु गरेकी शिल्पाले सन् १९९२ मा चलचित्र ‘गाता रहे मेरा दिल’मा काम गरेर बलिउडमा डेब्यू गरेकी थिइन् । तर, यो चलचित्र रिलिज हुन सकेन । यसपछि शिल्पाले नायक साहरुख खानसँग चलचित्र ‘बाजीगर’मा काम गरिन् । यो चलचित्र सुपरहिट भयो । यसपछि, शिल्पाको करिअर पनि चम्किन थालेको थियो ।

शिल्पाले करिअरको सुरुवातमा ‘आग, खिलाडी तु अनाडी’ जस्ता हिट चलचित्रमा काम गरेकी थिइन् । सोही समयमा नै शिल्पाको प्रेम कहानी पनि सुरु भएको थियो । बलिउड नायक अक्षय कुमारसँग शिल्पाको गहिरो प्रेम बसेको थियो । तर, उनको प्रेम अधुरो नै रहन पुग्यो । शिल्पा र अक्षय सन् १९९४ मा रिलिज भएको चलचित्र ‘खिलाडी तु अनाडी’मा एकसाथ देखिएका थिए । यसपछि, यी दुइ नजिक हुन पुगेका थिए । बलिउड बजारमा शिल्पा र अक्षयको प्रेम चर्चा सुरु हुन थालेको थियो ।

नायक अक्षय कुमारले नायिका रविना टन्डनसँगको प्रेम सम्बन्ध तोडेर शिल्पासँग सम्बन्ध जोडेका थिए । मिडिया रिपोर्टका अनुसार, अक्षयले रविनासँग एक मन्दिरमा बिहे समेत गरेका थिए । तर, अक्षयको जीवनमा शिल्पाको प्रवेशसँगै उनले रविनासँगको सम्बन्धमा पूर्ण बिराम लगाएका थिए ।

अक्षयले रविनासँग जस्तै शिल्पासँग पनि एक मन्दिरमा बिहे गरेका थिए । तर, उनको जीवनमा जब नायिका ट्विंकल खन्नाको प्रवेश भयो, यसपछि उनले शिल्पासँगको सम्बन्धलाई विश्राम लगाएका थिए । ‘फिल्मफेयर म्यागेजिन’का लागि एकसाथ फोटोसुट गरेपछि अक्षय र ट्विंकल नजिक भएका थिए । चलचित्र ‘मे खिलाडी तु अनाडी र इन्साफ’ लगायतका चलचित्रमा एकसाथ देखिएका शिल्पा र अक्षयले सन् २००० मा रिलिज भएको चलचित्र ‘धड्कन’मा अन्तिम पटक एकसाथ काम गरेका थिए । अक्षयले आफूलाई धोका दिएको थाहा पाएपछि शिल्पाले उनीसँगको सम्बन्ध तोडेकी थिइन् ।

अक्षयको बिषयमा कुरा गर्दै शिल्पाले एक अन्तरवार्तामा भनेकी छिन्–‘मैले कहिले पनि सोचेको थिइनँ कि अक्षयले मेरो साथमा यस्तो गर्नेछन् । म ट्विंकललाई यो कुरामा दोषी मान्दिनँ । जब मेरो पार्टनरले नै मलाई धोका दिएका छन् भने अरुसँग म किन गुनासो गर्नु ?’ शिल्पाले अक्षय कुमारले आफूलाई प्रयोग गरेको आरोप समेत लगाएकी थिइन् । उनले, अरु कोही पाएपछि आफूलाई अक्षयले किनारा लगाएको पनि आरोप लगाएकी थिइन् । शिल्पाले भनेकी छिन्–‘म खुशी यसकारण छु कि मैले आफूलाई यो घटनाबाट बाहिर निकाल्न सकेँ । म अक्षयलाई कहिले पनि माफी दिन्नँ र उनीसँग कहिले पनि काम गर्दिनँ ।’

शिल्पाले अक्षयमाथि आरोप लगाउँदै यूवतीको भरोसा जित्नका लागि उनीहरुसँग बिहेको नाटक रच्ने गरेको पनि बताएकी छिन् । अक्षयले सन् २००१ म ट्विंकलसँग बिहे गरेका थिए । शिल्पाले भने सन् २००९ मा भारतका सफल व्यापारी राज कुन्द्रासँग बिहे गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस