कसले गर्यो अभिनेत्री विपनाको युट्युब च्यानल ह्याक ?

काठमाडौं । अभिनेत्री विपना थापाको युट्युब च्यानल ह्याक भएको छ । अभिनेत्री थापाले बिहीबार साँझ आफ्नो युट्युब च्यानल ह्याक भएको सामाजिक सञ्जालमार्फत् जानकारी गराएकी हुन् । उनले आफ्नो भिडियो क्लिपमा भनेकी छिन् – ‘मेरो यूट्युब अकाउन्ट, गुगल एकाउन्ट अहिले भर्खरै कसैले ह्याक गरेको छ । मेरो यूट्युब च्यानल ह्याक गरेर अरु कसैले फेक भिडियो राखेर लाइभमा राखिरहेको छ । त्यसकारणले गर्दा कृपया उक्त भिडियो मेरो होइन ।’

यस्तै उनले यस्तो समस्याबाट बच्न आग्रह गर्दै अकाउन्ट ह्याक भएकोमा दुःख व्यक्त गरेकी छिन् । साथै सहयोगको लागि पनि उनले आग्रह गरेकी छिन् । विपना थापा अफिसियल नामको उक्त च्यानलमा ९१ हजार भन्दा सब्सक्राइबर छन् ।

पछिल्लो समय अभिनेत्री थापाले भारतका विभिन्न शहरहरुमा पुगेर नेपाल र नेपालीसँग सम्बन्धित विषयमा जानकारीमूलक भिडियो सामग्रीहरु प्रस्तुत गर्दै आइरहेकी छिन् । उनले भ्लगहरु पनि बनाइरहेकी हुन्छिन् । भान्साकोठादेखि खेतबारीसम्मको भिडियो र उनको दैनिकी भ्लगमा देख्न सकिन्छ ।

भारतीय व्यापारी तथा राजनीतिज्ञ आशुतोष भारद्वाजसँग विवाह गरेपछि नायिका विपना थापालाई दर्शकहरुले पर्दामा देख्न पाएका छैनन् । एक समय उनी नेपाली फिल्मकी निर्विकल्प हिरोइन थिइन् । तर, अहिले उनको एक झलक हेर्नका लागि पनि प्रशंसकहरु आतुर छन् । उनका पुराना चलचित्रहरु प्राय सबै हिट छन् । उनी निकै रुचाइएकी नायिका हुन् ।

एक छोराको आमा समेत भइसकेकी विपना बेला बखतमा नेपाल भने आइरहेकी हुन्छिन् । भारतको मथुरामा बस्दै आएकी अहिले उनी नेपालमा नै छिन् । आफू चाँडै नेपाली फिल्ममा कमब्याक गर्ने तयारीमा रहेको उनले बताएकी छिन् ।
विपना थापाले ‘सहिद गेट’, ‘मामाभान्जा’, ‘ख्यालख्यालैमा’, ‘बरमाला’, ‘बेइमानी’, ‘रामबलराम’, ‘देवदूत’, ‘प्यारी बहिनी’, ‘जित’, ‘सगुन’, ‘अनाथ’, ‘शंकर’ लगायत १ सय ११ वटा फिल्ममा अभिनय गरिसकेकी छन् । उनको पहिलो फिल्म ‘जन्मभूमि’ २०५३ सालमा प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया दिनुहोस