‘मैले उनलाई भुल्न सकेको छैन’ भन्दै आर्यघाटमै लगाए प्रहरीले फाँसी

एजेन्सी । बिवाहको दुई महिनापछि पत्नीको मृत्यु भयो । पत्नी वियाेग सहन सकेनन् र उनकाे अन्तिम संस्कार गरिएको ठाउँमा नै एक युवकले आत्महत्या गरे । ती युवक प्रहरी हुन् । टेकापुर निवासी मनिष नेतामको शव बालोद प्रहरीले भेट्टाएको हो । प्रहरीका अनुसार मनिष धमतरी जिल्लाका प्रहरी थिए । दुई महिना पहिले उनको बिवाह भएको थियो । १७ दिन पहिले घरमा लगाइएको टायलमा चिप्लिएर उनकि पत्नी हेमलताको मृत्यु भएको थियो ।

दुई महिना पहिले बिवाह बन्धनमा बाँधिएका यी दुई पति पत्नी एकअर्कालाई निकै प्रेम गर्थे । पत्नीको मृत्युपछि प्रहरी सिपाही मनिष उदास थिए । गाउँलेहरुका अनुसार उनी पत्नीको असामयिक निधनले विक्षिप्त थिए । हरेक दिन श्रीमतीको अन्तिम संस्कार गरिएको स्थानमा गएर उनलाई सम्झँदै रुन्थे ।

सधैँजसो बुधबार पनि मनिष अन्तिम संस्कार स्थलमा पुगेर रुन लागे । केही समयपछि आर्यघाट नजिकै रहेको एउटा रुखमा झुण्डिएर आत्महत्या गरे । आत्महत्या गर्नुअघि उनले ह्वाट्स् एपमा सुसाइड नोट आफ्नो भाइलाई पठाएका थिए । तर प्रहरी र परिवार त्यहाँ पुग्दा उनको मृत्यु भइसकेको थियो ।

सुसाइड नोटमा उनले लेखेका छन् – ‘हाम्रो बिवाह भएको मात्र दुई महिना भएको थियो । म उनलाई भुल्न सकिरहेको छैन । यत्रो मेहनतले सबैजना मिलेर नयाँ घर बनाएका थियौँ र छिट्टै बिवाह पनि भयो । सबै राम्रोसँग चलिरहेको थियो, थाहा छैन भगवानलाई के बाध्यता थियो, मेरी श्रीमतीको मृत्यु भयो । अब मलाई घरमा बस्न पटक्कै मन छैन । भाइ, बुवा र दिदी मलाई माफ गरिदिनुहोस् । जसले लताको जिम्मेवारी मलाई दिनुभयो, मैले निभाउन सकिनँ ।’

मनिषको अन्तिम संस्कार त्यहीँ गरिएको छ जहाँ उनको श्रीमतीको गरिएको थियो । पुरै गाउँले मनिषको अन्तिम बिदाई गर्यो ।

प्रतिक्रिया दिनुहोस