बाबु गुमाएकी किशोरीको शिक्षाको जिम्मा वडाध्यक्षले लिने

केही साता अघि बाबु गुमाएकी सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० वर्षीया बालिका समीक्षा बस्नेतको माध्यमिकसम्मको पढाइको जिम्मा वडाध्यक्ष रामकुमार थापाले लिनुभएको छ ।

अध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा बस्नेत परिवारलाई उहाँले रु एक लाख ५७ हजार नगद पनि सहयोग गर्नुभएको छ । स्थानीय विद्यालयको कक्षा ४ मा अध्ययनरत समीक्षालाई वडाध्यक्ष थापाले राजधानीको सान इन्टरनेशनल विद्यालयमा भर्ना गरिदिने बताउनुभयो ।

साथै वडासदस्य रुपकाजी लामाले रु १० हजार १०० बालिकालाई सहयोग पुगोस् भनी बस्नेत परिवारलाई वडाध्यक्षमार्फत हस्तान्तरण गर्नभएको छ । छत्तीस वर्षीय नेत्रबहादुर बस्नेतको एपेन्डिसाइटका कारण निधन भएपछि उहाँको परिवार पीडामा छ । मृतक बस्नेत गाडी चालक हुनुहुन्थ्यो । उहाँले लकडाउनमा पनि गाडी चलाउँदै अहोरात्र खटी लकडाउनमा अलपत्र परेका मानिसको उद्धार गरी सहयोग गरिरहनुभएको थियो । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाइ रोकिने अवस्थामा पुगेको थियो ।

वडाका नागरिकको पीडामा मल्हम लगाउन उक्त सहयोग गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो । थुम्पाखर एकता समाजका सदस्य तीर्थ भण्डारीको पहलमा विदेशमा रहेका रमेश बस्नेतले रु ५० हजार ५०० नगद पनि समीक्षाको परिवारलाई बुझाइएको छ ।

रु एक लाख छ हजार थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्वअध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दीपक कार्कीलगायतका एकता समाजका पदाधिकारीले नगद सङ्कलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस