मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने– कानुनमन्त्री कार्की

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान मन्त्रिमण्डलले चाँडै पूर्णता पाउने बताउनुभएको छ ।विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीसँग कुरा गर्दै उहाँले सबै दलसँग छलफल गरेर छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पार्नुभएको हो । सरकारका प्रवक्ता कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठबन्धन दलबाहेक अन्य दललाई पनि सरकारमा सहभागी गराउन कुरा भइरहेको जानकारी दिनुभयो ।

समयको महत्व बुझेर सरकारले जनताले अनुभूति गर्ने गरी दिगो विकासका कार्य गर्ने प्रष्ट पार्नुभएका उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेश आवश्यक्ता र बाध्यताले ल्याइएकाले आगामी अधिवेशनमा यस सम्बन्धमा छलफल हुने जानकारी दिनुभयो ।

एक प्रश्नको जवाफमा मन्त्री कार्कीले नेपाली कांग्रेसको अधिवेशन तोकिएकै समयमा गर्न यही भदौ १८ गते वडास्तरीय अधिवेशन गरिने र सभापतिको उम्मेदवारीका लागि पनि सूचना जारी गरिने जानकारी दिनुभयो । एमसीसीे एक विकास परियोजना भएकाले यो हाम्रो मुलुकलाई जरुरी छ भन्दै उहाँले यस सम्बन्धमा दलहरुबीच छलफल गरेर मात्र पारित गरिने छ भन्नुभयो ।मन्त्री कार्की सुनसरीको रामधुनी नगरपालिकाको कार्यक्रमका लागि यहाँ आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस