अमेरिकामा एकै परिवारका ३ जनाको यस्तो दु:खद्पूर्ण मृत्यु !

अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ। आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीकाआङ गेलु लामा ,उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाले ज्यान गुमाएका छ। तीन दिनअघि अमेरिकी राज्य लुजियानामा आइडा आँधी प्रवेश गरेको थियो। उक्त आँधीका कारण लुजियानामा ठूलो भौतिक र मानवीय क्षति भएको थियो।

न्युयोर्क टाइम्सका अनुसार कमजोर भइसकेको ठानिएको त्यही आँधीको प्रभावले बिहीबार उत्तरपूर्वका न्युयोर्क, न्युजर्सी, पेन्सलभेनिया र कनेक्टिकट राज्यमा अचानक भीषण वर्षा भएको थियो। अचानक भएको वर्षाले घरका भुइँतलामा पानी भरिएको थियो भने सडकहरू नदीजस्ता भएका थिए। ज्यान गुमाउनेहरूमा धेरैजसो भुइँतलामा बसेका र सवारी साधन चलाइरहेका मानिसहरू छन्। बाढीमा केही कारहरू बगेका छन्।

वर्षासँगै आएको चक्रवातले केही घरका छाना पनि भत्काइदिएको छ। बाढीपछि न्युयोर्क सहरमा सबवे बन्द गरिएको छ। दर्जनौं उडान स्थगित भएका छन्। बिजुली अवरूद्ध भएपछि ती राज्यहरूमा जनजीवन अस्तव्यस्त भएको छ।

देशको पूर्वोत्तर भाग अचानकको बाढी र आँधीबेहरीको चपेटामा परी ४५ जनाभन्दा धेरैको ज्यान गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्नका निम्ति “ऐतिहासिक लगानी” आवश्यक पर्ने बताएका छन्। उनले अहिले अमेरिकाले देशैभरि जलवायुसम्बन्धी सङ्कट भोगिरहेको र त्यसको सामना गर्नु भनेको “जीवन वा मरणको सवाल भएको” बताएका छन्।

न्यूयोर्क र न्यूजर्सी राज्यमा अस्वाभाविक वर्षा देखिएको छ। केही बासिन्दाहरू बाढीको चपेटामा परेका कारहरू र भवनहरूका सबैभन्दा मुनिको तलामा फसेका छन्। समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा भएपछि त्यस्तो विपद् देखा परेको हो।

प्रतिक्रिया दिनुहोस