नेपालमा कोरोना भाइरसविरुद्धको खोप १ करोड डोजभन्दा बढी लगाईयो’

काठमाण्डौं,२० भदौ २०७८ नेपालमा हालसम्म १ करोड ३३ लाख कोरोना भाइरसविरुद्धको खोप भित्रिएकोमा भदौ २० गते वुधबार सम्म १ करोड डोजभन्दा बढी खोप लगाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा समिर कुमार अधिकारीले १ करोड भन्दा बढि खोप यति कम समयमा लगाईनु निकै सकारात्मक कुरा भएको भन्दै सरकारले लक्ष्य गरे अनुरुपको खोप उपलब्ध गराई सबै मानिसमा पुर्ण खोप लगाउन प्रतिवद्ध रहेको बताउनुभयो ।

नेपालमा खोप लगाउन लक्ष्य राखिएको २ करोड १७ लाख ५६ हजार सात सय त्रिसट्ठी जना मध्ये शनिवार सम्मको तथ्याङ्क हेर्दा ५४ लाख २४ हजार ८ सय ३६ जना अर्थात् १७.९ प्रतिशत ले खोपको पहिलो मात्रा लगाइसकेका छन् । खोपको पुर्ण मात्रा लगाउनेको संख्या ४६ लाख ६७ हजार ३ सय २८ अर्थात १५.४ प्रतिशत रहेको छ ।

विश्व स्वास्थ्य संगठन का दक्षिण पुर्वी एसिया क्षेत्रीय निर्देशक डा पूनम क्षेत्रपाल सिंहले यति छोटो समयमा १ करोड भन्दा बढि खोप लगाई १५ प्रतिशत जनातालाई पुर्ण खोप लगाउन सफल भएको भनि ‘नेपाल’लाई बधाई दिनुभएको छ ।

नेपालमा गत वर्षको माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।

नेपालमा अहिले भारतमा निर्मित कोभिसिल्ड, चीनको भेरोसेल, अमेरिकाको जोन्सन एन्ड जोन्सन, जापानमा बनेको एस्ट्राजेनेका र स्विडेनमा बनेको एस्ट्राजेनका खोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस