काठमाडौँमा ‘मिसेस् नेपाल वर्ल्ड’ आयोजना हुँदै

रिबन इन्टरटेनमेन्टले आयोजना गर्दै आइरहेको विवाहित महिलाको लागि नेपालको सबैभन्दा ठुलो प्रतियोगिता ‘मिसेस् नेपाल इन्टरनेसनल’ नामक सौन्दर्य प्रतियोगिता यस वर्षदेखि मिसेस् नेपाल वर्ल्डको रूपमा आयोजना हुन लागेको छ ।

सन् २०१९ मा मिसेस् नेपाल इन्टरनेसनलको पाँचौँ संस्करण सम्पन्न गरेको र सन् २०२० मा कोरोनाको महामारीका कारण स्थगित हुन गएको कार्यक्रम यस वर्षदेखि परिमार्जित भई मिसेस् नेपाल वर्ल्डको रूपमा आयोजन हुन लागेको रिबन इन्टरटेनमेन्टले जनाएको छ ।

यस वर्ष मिसेस् नेपाल वर्ल्डको पहिलो संस्करणको घोषणासँगै यस कार्यक्रमको विजेताले सन् २०२२ को जनवरीमा लस भेगास, अमेरिकामा आयोजना हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्नेछिन्। यस वर्ष देखि रिबनले आयोजना गर्ने कार्यक्रममा एकै मञ्चबाट मिसेस् नेपाल वर्ल्ड र मिसेस् नेपाल इन्टरनेसनलका साथै एम. एस. नेपाल इन्टरनेसनल गरी तीन जना विजेताहरूको छनोट गर्नेछ।

यसै गरी मिसेस् इन्टरनेसनल नेपाल तथा एम. एस. नेपाल इन्टरनेसनलका विजेताले नेपाललाई प्रतिनिधित्व गरी सन् २०२२ मा सिंगापुरमा आयोजना हुने मिसेस् इन्टरनेसनल तथा एम. एस. इन्टरनेसनलमा सहभागिता जनाउने छन्।

यो वर्ष मिसेस् वर्ल्डमा नेपालको पहिलो सहभागिता हुनेछ।

विगतको वर्षहरूमा झैँ सामाजिक मुद्दालाई आफ्नो कार्यक्रमको नारा तथा वर्ष भरी विजेताले उक्त मुद्दामा केन्द्रित रही काम गर्नुपर्ने हुँदा यस वर्षलाई मिसेस् नेपालले ‘क्यान्सर विरुद्धको जनचेतना अभियानलाई’ वर्षको मुद्दा बनाएको छ।

यस अघि सम्पन्न मिसेस् इन्टरनेसनलमा सबिता लामिछाने, अनुपमा राई, सुरुची पाण्डे, चन्दा थापा गिरी र भाविषा कोइराला चटौतले क्रमशः उपाधि जितेका थिए। मिसेस् इन्टरनेसनलमा यसअघि नेपालबाट सुरुचि पाण्डे, एलाईजा महर्जन, चन्दा थापा गिरीका साथै स्नेहा थापाले प्रतिनिधित्व गर्दै विभिन्न उपाधिहरू जित्दै नेपाल र नेपालीको प्रतिष्ठा बढाएका छन्।

मिसेस् नेपाल इन्टरनेसनल २०१८ कि विजेता चन्दा थापा गिरीले मिसेस् इन्टरनेसनलमा ‘मिसेस् एसिया प्यासिफिक २०१८’ को ताज जित्न सफल भएकी थिइन। यसै गरी एम. यस. इन्टरनेसनलमा नेपालको तर्फ बाट संगीता बस्याल ले सहभागिता जनाएकी थिइन।

कार्यक्रम सम्बन्धी विस्तृत जानकारी तथा कार्यक्रमको तालिका छिट्टै नै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइने आयोजक संस्था रिबन इन्टरटेनमेन्टले विज्ञप्तिमार्फत जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस