बोझो खानुका फाइदै फाइदा !

घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ । तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला ।

आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्ः प्राकृतिक बुटी बोझोको रसले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्ने विभिन्न क्लिनिकल रिसर्चले पुष्टि गरेको छ ।

शरीर लठ्याउने औषधिमा बोझोको प्रयोग गर्न सकिन्छ । सामान्य अवस्थामा सुकाएर तयार पारिएको बोझो सेवन गर्दा शारीरिक दुखाइमा आराम दिन्छ । पेट दुख्दा बोझो चुस्दा आराम मिल्छ । यसमा हुने आर्सोन र बेटाआर्सोनको सम्मिश्रणले नसा मजबुत बनाउन मद्दत गर्छ ।

आयुर्वेद ग्रन्थहरूका अनुसार मेध्य, कण्ठ्य, वेदनास्थप, सुलहर र शोथहर कर्म गर्ने भएकाले मानसिक तनाव, हिस्टेरिया, अनिद्रालगायत स्नायुसम्बन्धी विभिन्न समस्या समाधानमा पनि बोझो एवं बोझोयुक्त सम्मिश्रण प्रयोग गरिन्छ ।

बोझोले स्मरणशक्ति एवं बुद्धि बढाउन मद्दत गर्ने आयुर्वेदिक ग्रन्थहरूमा लेखिएको छ । एउटा सानो टुक्रो मुखमा राखेर लामो समयसम्म नियमित चुस्दा फाइदा गर्छ ।

उच्च रक्तचाप भएकाहरूलाई बोझो निकै उपयोगी हुन्छ । जराको बोक्रोले रक्तस्तम्भको काम गर्छ । बोझो सेवनले श्वासप्रश्वासको गति कम गर्न पनि भूमिका खेल्छ । यसकारण दमरोगीहरूका लागि पनि बोझो उपयोगी जडीबुटी हो ।

बोझोको टुक्रा मुखमा राखेर चुस्दा घाँटीको कफ निकाल्न भूमिका खेल्छ । पेटको गडबडीमा पनि बोझो सेवन उपयोगी हुन्छ । पिसाब तथा दिसा खुलाउने, पेटमा असहज हुँदा बमिट गराउन, पेटमा अत्यधिक ग्यास भए निकाल्न बोझोलाई ‘कार्मिनेटिभ’ (पेटको ग्यास फालेर आरम दिने उपचार) को रूपमा प्रयोग गरिन्छ । पिलो, जोर्नीमा निम्तिने पीडालगायत कतिपय बाह्य समस्यामा पनि बोझोको रस प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस