वैज्ञानिकहरुले बनाए घर ठण्डा बनाउने विश्वकै सबैभन्दा सेतो पेन्ट, घरमा अब एसी नचाहिने

काठमाडौं । निरन्तर भैरहेको वैज्ञानिक खोजले हाम्रो जिवनशैलीलाई निकै सजिलो बनाइदिएको छ । हाम्रो दैनिक गतिविधिमा अझै धेरै सुख सुविधा कसरी ल्याउन सकिन्छ ? भन्ने कुराको खोज अनुसन्धानका लागि विश्वका वैज्ञानिकहरु दिनहुँ खोज/अनुसन्धानमा लागि रहेका छन् ।

यहीँ क्रममा वैज्ञानिकहरुले एउटा अनौठो पेन्ट तयार पारेका छन् जसले हावा चिस्याउने उपकरण अर्थात् एसीमाथिको हाम्रो निर्भरतालाई अन्त्य गरिदिनेछ । वैज्ञानिकहरुका अनुसार यो पेन्टले आगामी दिनमा गर्मीयाममा एसीलाई प्रतिस्थापन गर्नेछ ।

अमेरिकी वैज्ञानिकहरुले यो विशेष पेन्ट तयार गरेका हुन् । यो संसारकै सबैभन्दा सेतो रङ हो । यसले सबैभन्दा सेतो पेन्टको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाइ सकेको गरेको छ ।

वैज्ञानिकहरुले यो पेन्टको निर्माण एक खास उद्देश्‍यलाई ध्यानमा राखेर गरेका थिए । यो पेन्टका कैयन् सकारात्मक लाभहरु देख्न सकिने दाबी गरिएको छ ।

विश्व उष्णीकरण हाल विश्वमा सबैभन्दा ठूलो संकटको रुपमा देखा परेको छ । विश्व उष्णीकरण र जलवायु परिवर्तनको असर कम गर्ने प्रयासस्वरुप वैज्ञानिकहरुले उक्त पेन्टको विकास गरेका हुन् । उक्त पेन्टको सहायताले विश्वव्यापी तापमान वृद्धिको प्रभावलाई केही हदसम्म कम गर्न सकिने बताइएको छ ।

मेकानिकल इन्जिनियरिङका प्राध्यापक शिउलिन रुआन भन्छन्, ‘हामीहरुले करीब ७ वर्ष अगाडि देखि यस परियोजनाको सुरुवात गरेका थियौँ । यो योजना सुरु गर्नुअघि हामीले विश्व उष्णिकरण तथा बिजुलीको खपतका बारेमा विचार गरिरहेका थियौँ । त्यसबीच हामीलाई एउटा यस्तो पेन्ट बनाउने आइडिया आयो जसले सूर्यको प्रकाशलाई पूर्ण रुपमा परावर्तन गर्न सक्दछ ।’

वैज्ञानिकहरुका अनुसार यदि यो पेन्ट १ हजार वर्गफिटको छतमा पोतियो भने त्यसबाट १० किलोवाट बराबरको चिस्यान शक्ति अर्थात् कुलिङ पावर मिल्नेछ । यसबाट घरभित्र शितल हुनेछ । यो पेन्ट छिट्टै नै बजारमा आउने बताइएको छ । यसलाई बजारमा ल्याउनका लागि कम्पनीहरुसँग कुराकानी भइरहेको वैज्ञानिकहरुले बताएका छन् ।

पेन्ट तयार गर्ने वैज्ञानिकहरुका अनुसार यो पेन्ट अत्यधिक सेतो हुनाले निकै परावर्तक छ । यसले सूर्यको निकै सुक्ष्म गर्मीमात्र सोस्दछ र बाँकी सबै परावर्तन गर्दछ । जसका कारण छत र बाहिरी भित्तामा यो रङ पोतेमा घरभित्र निकै ठण्डा तथा शितल हुनेछ ।

यदि आम रुपमा यो पेन्टको प्रयोग भएमा त्यसले गर्मी याममा घरमा प्रयोग हुने एसी उपकरणमाथिको निर्भरता कम हुनेछ जसको पर्यावरणीय लाभ मिल्नेछ । एसीको प्रयोगका क्रममा निस्कने ग्याँसले जलवायु परिवर्तन तथा उष्णीकरणमा ठूलो भूमिका खेलेको हुन्छ ।

यो रङको व्यापक प्रयोगले एसीबाट निस्कने हानिकारक ग्यासको उत्सर्जन घट्ने र त्यसले जलवायु परिवर्तन न्यूनीकरणमा सहयोग पुग्ने वैज्ञानिकहरुको दाबी छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस