मनोजको दोस्रो बिवाहबारे यसो भन्छिन् पूर्व पत्नी मिना

काठमाडौं । तीन दिनअघि मात्रै दोस्रो बिवाह गरेका हाँस्य कलाकार मनोज गजुरेलले आफूलाई ‘ट्रोल’ नबनाइदिन आग्रह गरे । बिवाहका तस्वीरहरु सार्वजनिक गर्दै उनले एक लामो स्टाटस नै लेखे । तर उनकै पूर्व पत्नीले उनलाई गिराउन कुनै कसर बाँकी राखेकी छैनन् । टिकटक, फेसबुक लगायत सामाजिक सञ्जालमा उनले मनोज र उनकि दाेस्री पत्नीलाई तथानाम गाली गरेकी छिन् ।

मिनाले सामाजिक सञ्जाल फेसबुकमा मनाेजकि दाेस्री पत्नी मञ्जु पोखरेललाई व्यंग्य गर्दै लेखेकि छिन्, ‘अर्काको लोग्ने अर्काकी स्वास्नी अर्काकै छोराछोरी । उफ ! कत्रो डरलाग्दो सम्झौता ! आखिर के को लागि गर्छ मान्छे ? कठै जिन्दगी ।’

मिनाले मनाेजकाे बिवाहकै दिन पनि उनीमाथि व्यंग्य गरेकि थिइन् – ‘ब्यहोरा युवा भए पो युबति पाइन्छ त !’

उनले टिकटकमा समेत मनोजको बिवाहको खिल्ली उडाएकी छिन् । उनले भनेकी छिन्, ‘तीन दशकको सम्बन्ध बिग्रनुमा लोग्ने मान्छे गलत भएर हुन्छ । यदि लोग्नेमान्छे सही हुन्थ्यो भने उसले अर्को बिहे गर्ने हिम्मत नै गर्दैनथ्यो । भनिन्छ नि, अगुल्टोले हानेको कुकुर बिजुली चम्किदा तर्सिन्छ भनेजस्तै पहिलो श्रीमतीबाट झड्का पाएको भए, दुःख पाएको भए, तनाव भएको भए अर्को बिहे गर्ने हिम्मत नै गर्दैन नि !’

मनाेजले असाेज २५ गते न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग भक्तपुरको डोलेश्वर महादेवको मन्दिरमा बिवाह गरेका थिए । उनले आफ्नो र मञ्जुको ट्रोल नबनाइदिन र जथाभावी समाचार नबनाइदिन समेत आग्रह गरेका थिए ।

उनले भनेका छन्, ‘जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ । मेरो लामो वैवाहिक जीवन ४ बर्ष पहिले कानुनीरुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ । त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको छ । जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो ।

यी दुबै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो । यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो । विस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भोगाईबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौँ ।’

मिडियालाई अनुराेध गर्दै उनले भने, ‘सम्पुर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ । कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखिदिनुहोला । मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला ।

हाम्रा सन्तानको सुख र शान्तीका लागी परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ! कसैको निजी जीवनका बारेमा कपोकल्पित समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविस्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस