नयाँ महामारी आउन सक्ने शंका गरिएको के हो ‘लङ कोभिड’? कसलाई छ कति खतरा ?

करिब डेढ वर्ष कोरोना महामारीसँग जुधेपछि गएको अगस्ट र सेप्टेम्बर महिना विश्वकै लागि राहतको समय भयो। यी दुई महिना कोरोना संक्रमण र मृत्युको तथ्यांक मात्र कम भएन कि विश्वको कुनै कुनाबाट कुनै नयाँ भेरिएन्ट पत्ता लागेको खबरसमेत आएन।

यही बेला बेलायत र अमेरिकाजस्ता देशका बासिन्दालाई मास्कबाट छुटकारा मिल्यो। अन्य देशको जनजीवन पनि क्रमशः सामान्यतर्फ जाँदैछ। यो खुसीको कुरा हो। तर, यस्तो बेला कुनै खराब खबर छ भने त्यो पनि कोरोना महामारीसम्बन्धी नै हुनसक्छ।

सायद हामी छिटै एउटा नयाँ प्रकारको महामारीको सामना गर्न गइरहेका छौँ। वैज्ञानिकहरुले यो संभावित महामारीलाई ‘पोष्ट कोभिड-१९ कन्डिसन’, ‘एक्युट कोभिड-१९’ वा ‘लङ कोभिड’ नाम दिइरहेका छन्।

महामारी विशेषज्ञले यस्तो महामारीबारे विगत एक वर्षदेखि आशंका गरिरहेका थिए। तर, अहिलेसम्म यसको कुनै लक्षण वा उपचारसँग जोडिएको ठोस उपलब्धि हासिल गर्न सकिरहेका छैनन्। विश्वभरिका जनतालाई राहत दिने एउटै तथ्य के हो भने, ‘पोष्ट कोभिड-१९’ संक्रामक छैन। यसको जोखिममा त्यो व्यक्ति मात्र छ, जो पहिला कोभिड संक्रमित बनेको छ।

के हो लङ कोभिड?
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार छिटोछिटो श्वासप्रश्वास हुनु, मानसिक र शारीरिक थकान हुनु लङ कोभिडका लक्षण हुन्। त्यसबाहेक छाती दुख्ने, बोल्न गाह्रो हुने, डिप्रेसन, चिन्ता, ज्वरो, टाउको दुख्ने, तीव्र गतिमा कपाल झर्ने जस्ता लक्षण पनि देखिन्छन्।

वैज्ञानिकहरुका अनुसार कोरोना संक्रमण पूर्णरुपमा ठीक हुन १४ दिन लाग्छ। कसैलाई १४ दिनपछि पनि लक्षणहरु रहिरह्यो भने त्यसलाई गम्भीर मानिन्छ। कसैलाई चार हप्तासम्म संक्रमण देखिए त्यसलाई ‘एक्युट कोभिड-१९’ भनिन्छ। त्यस्तै १२ हप्तासम्म लक्षण देखिए ‘अनगोइङ सिम्प्टोम्याटिक कोभिड-१९’ र १२ हप्ताभन्दा बढी लक्षण देखिइरहे लङ कोभिड भनिन्छ।

विशेषज्ञहरुका अनुसार लङ कोभिडका बिरामीमा माथि उल्लेख गरिएका लक्षण तीन महिनादेखि एक वर्षसम्मै देखिन सक्छ। तर, महामारी सुरु भएको बल्ल डेढ वर्ष पुगेको हुनाले वैज्ञानिकले यसबारे स्पष्ट रुपमा बताउन सकेका छैनन्। लङ कोभिडको अहिलेसम्म कुनै औषधि वा उपचार पद्दति छैन। केही तथ्य र अनुभवका आधारमा भन्न सकिन्छ कि खोप लगाएका व्यक्तिमा कोरोना संक्रमणपछि लङ कोभिड हुने संभावना कम छ।

कोरोना भाइरसले मुटु र मस्तिष्कका कोषहरुलाई क्षति पुर्‍याउँछ। यस्तो क्षतिबाट मानसिक थकान र कमजोरी हुन्छ। स्वाद र गन्धको ज्ञान हुँदैन। मुटुसँग जोडिएका रक्तनली थुनिने जोखिम भएकाले ‘हर्ट अट्याक’ पनि हुनसक्छ।

कोरानाका बिरामी निको भएपछि पनि भाइरसको केही अंश शरीरमा रहिरहने बताइएको छ। ती भाइरस केही समयसम्म निस्क्रिय हुन्छन्। त्यसपछि नयाँ तरिकाले शरीरलाई प्रभावित गर्न थाल्छन् र अन्य भाइरसहरुको संक्रमणजस्तै व्यवहार देखाउँछन्। बिस्तारै यसले जटिलता निम्त्याउँछ। यी अनुभव र तथ्यका आधारमा बाहिर आएका जानकारी हुन्। वैज्ञानिकहरुले अहिलेसम्म लङ कोभिडबारे ठोस धारणा भने ल्याउन सकेका छैनन्।

किन चिन्ता गर्नु जरुरी छ?
लङ कोभिडबारे केही महिनाअघि मात्र चर्चा हुन सुरु भएको हो। यसबारे भएको अनुसन्धानले संकेत गरेको छ कि कोरोना संक्रमण भएका १० देखि ३० प्रतिशतलाई लङ कोभिड भएको छ। खासगरी अस्पताल नै भर्ना गर्नु परेका गम्भीर संक्रमितलाई लङ कोभिडको जोखिम छ। केही अनुसन्धानले ज्येष्ठ नागरिकमा यसको समस्या बढी भएको देखिएको छ। त्यस्तै महिलालाई पनि लङ कोभिड हुने संभावना करिब दुई गुणा बढी भएको पाइएको छ। तर, यसको कारण पत्ता लागेको छैन।

बेलायतमा २० हजार संक्रमितमा गरिएको अनुसन्धानमा करिब २० प्रतिशतलाई लङ कोभिड भएको पाइएको छ। भारतमा थोरै संख्यामा लिइएको नमूनाबाट गरिएको अध्ययनमा करिब ३१ प्रतिशतलाई यो समस्या भएको पाइएको छ। संक्रमित स्वस्थ भएको तीन महिनापछि पनि लङ कोभिड भएका घटना पाइएका छन्।

लङ कोभिडसँग जोडिएको सबैभन्दा घातक तथ्य चाहिँ यसको असर शरीरका जुनसुकै अंगमा पनि देखिन सक्छ। यसबाट मस्तिष्क, फोक्सो वा मिर्गौलासम्म असर हुनसक्छ। मनौवैज्ञानिक समस्यासमेत देखिन सक्छ। लङ कोभिडसम्बन्धी चेतना फैलाउने काम गरिरहेको संसारकै ठूलो नागरिक संगठनले कोभिड-१९ लाई श्वाससम्बन्धी बिरामीको साटो अब ‘मल्टी-अर्गन डिजिज’ अर्थात बहु-अंगसम्बन्धी रोग भन्नुपर्नेमा जोड दिइरहेको छ।

उक्त तथ्यलाई विभिन्न अध्ययनहरुले पनि पुष्टि गर्दै गएका छन्। हालै एउटा प्रतिष्ठित साइन्स जर्नलमा प्रकाशित अध्ययनमा मुटुको अनियमित चाल, टाउको दुखाइ, शरीरका नशा देखिनु, बेहास हुनुजस्ता लक्षण कोरोनाले मुटुमा पारेको असरको प्रमाण भएको जनाएको छ।

त्यसबाहेक कोरोना संक्रमणले पाचन प्रक्रियालाई पनि असर गर्ने अध्ययनहरुले देखाएका छन्। त्यसैगरी ‘पिट्युटरी ग्लान्ड’ (मष्तिस्कमा हुने ग्रन्थी)लाई पनि असर गर्ने बताइएको छ। शरीरको ‘मास्टर ग्लान्ड’ भनिने यो ग्रन्थीले हाम्रो सबै हर्मोन नियन्त्रण गर्छ। त्यसकारण यो मल्टी-अर्गन डिजिज भएको उक्त संस्थाको दाबी छ।

कसलाई कति खतरा छ?
लङ कोभिडसँग जोडिएको एक मात्र सकारात्मक कुरा भनेको बिरामीको शरीरमा कोरोना भाइरस ‘जीवित’ हुँदैन। यसकारण लङ कोभिड संक्रामक हुँदैन र उही एक जना बिरामी मात्र पीडित हुन्छ।

धेरै उमेरका व्यक्ति, महिला र कोरोना संक्रमणबाट गम्भीर बिरामी परेकालाई लङ कोभिडको लक्षण धेरै देखिएको छ। तर, यसको अर्थ यो होइन कि, युवा, पुरुष र हलुका लक्षण देखिएका संक्रमितमा लङ कोभिड हुँदैन। अमेरिकी स्वास्थ्य संस्था सीडीसीद्वारा जारी रिपोर्टका अनुसार सामान्य लक्षण देखिएका संक्रमित, जसको उपचार घरैमा भएको छ, उनीहरुमध्ये करिब एकतिहाईलाई दुईदेखि तीन महिनापछि पोष्ट कोभिडको सामान्य लक्षण देखिएको छ। तर, उनीहरुलाई गम्भीर भने नबनाएको पाइएको छ। त्यसकारण प्रत्येक संक्रमितले पोष्ट कोभिड भएको वा नभएको पत्ता पाउन हरेक तीन महिनामा स्वास्थ्य परीक्षण गर्न सल्लाह दिइएको छ।

बच्चालाई भने अहिलेसम्म कोरोना संक्रमण हुने खतरा कम भएको मानिएकाले उनीहरुमा लङ कोभिड हुने जोखिम पनि कम नै छ। तर, बितेको केही महिनामा भएको अध्ययनले देखाएअनुसार कोरोना संक्रमित भएका १२ देखि १५ प्रतिशत बच्चालाई पाँचदेखि १७ महिनापछि लङ कोभिड देखिएको छ। वयस्कलाई जस्तै उनीहरुलाई पनि थकान लाग्ने, टाउको दुख्ने, निद्रा नआउने र श्वास तथा मुटुको धड्कन अनियमित हुने हुन्छ। बच्चालाई यस्तो असर भएको धेरै कम मात्र फेला परेकाले वैज्ञानिकहरु ठोस निष्कर्षमा पुगिसकेका छैनन्।

प्रतिक्रिया दिनुहोस