फेसबुकले नाम परिवर्तन गर्ने, एक सातामै हुँदैछ निर्णय

एजेन्सी । सबैभन्दा चर्चित सामाजिक सञ्जाल फेसबुकको कम्पनीले अब नाम परिवर्तन गर्ने भएको छ । कम्पनीलाई रि–ब्रान्ड गर्न अर्को हप्ता नै नयाँ नाम राख्ने तयारी गरेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले २८ अक्टोबरमा हुने वार्षिक सम्मेलनमा यसबारे कुरा गर्ने बताइएको भएपनि त्यसबारे सूचना पहिले नै चुहिएको छ । तर उनले आधिकारिक घोषणा गर्नु अघि नै सूचना सार्वजनिक भएको हो ।

यसअघि फेसबुककी एक पूर्वकर्मचारीले कम्पनीबारे ठूलो विवादास्पद खुलासा गरेपछि फेसबुक चारैतिरबाट दबाबमा आएको थियो । व्यक्तिको हितभन्दा कम्पनीले आफ्नो नाफालाई बढी प्राथमिकता दिएको बताएकी थिइन् । जसका कारण किशोर किशोरीमा नराम्रो प्रभाव पर्ने उनले बताएकी थिइन् । उनले फेसवुकका केही गो प्य कागजात पनि सार्वजनिक गरिदिएकी थिइन् ।

यसरी अनुपयुक्त व्यवसायिक अभ्यासलाई लिएर विश्वभरका निरीक्षक र सांसदहरुबाट आलोचित भएको फेसबुकले अब आगामी दिनहरुमा ‘मेटाभर्स’ मा केन्द्रित रहनका लागि भनेर पनि यस्तो गर्न लागेको बताइएको छ । प्राविधिक कम्पनीहरुले आफ्नो सेवा विस्तार गर्न यस किसिमले नाम परिवर्तन गरिरहने गरेका छन् ।

त्यस्तै यो महिना पाँच घण्टासम्म फेसबुक, वाट्सएप, इन्स्टाग्राम दुनियाँभर नचलेपछि यसले पनि कम्पनीको सुरक्षा र सेवाबारे प्रश्न खडा गरेको थियो । यसले फेसबुकको शेयरमा गम्भीर प्रभाव पारेको थियो । गार्जियन

प्रतिक्रिया दिनुहोस